सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको बताए ।
उनले सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोनमार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गरिने बताए । सरकारले चालु आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको बताए ।
साथै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले सीमापार आपराधिक गतिविधि नियन्त्रणको लागि खुला सीमा मुख्य चुनौतीको रुपमा रहेको बताए ।
‘धेरै जस्तो सीमावर्ती नाकाहरुमा प्रहरी बस्नको लागि टहरा, जस्ता, भत्किनै लागेको बिल्डिङ, चुहिने छाना छ । अनि प्रहरीले रातभरी ड्युटी गर्नुपर्ने अवस्था छ । यस्तो समस्या प्रहरीले भोगिरहेका छन्,’ उनले भने, ‘ती समस्याहरु समाधान गर्नको लागि हामीले बल्ल बजेट पाएका छौँ । विनियोजित बजेट कार्यान्वयन गर्ने चरणमा अहिले हामी पुगेका छौँ । त्यसकारण सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउनको लागि बोर्डर आउट पोस्ट (बिओपी) हरुमा पूर्वाधार निर्माण गर्ने योजनाहरु यसमा छ ।’
गृहमन्त्री गुरुङले सीमा स्तम्भ सुरक्षाको विषयमा समेत आफू गम्भीर रहेको बताए ।








