प्लाइउड निर्यातका अवरोध हटाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्लाइउड निर्यातका अवरोध हटाउन निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिबीच शुक्रवार सिंहदरबारमा भएको भेटवार्तामा प्लाइउड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो ।
भेटका क्रममा प्रधानमन्त्रीले प्लाइउड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद दाहालले बताए । उनकाअनुसार प्लाइउड व्यवसायीहरूले यस क्षेत्रलाई नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रस्तुत गर्दै यसका चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
व्यवसायीहरूले कच्चा पदार्थको आपूर्तिमा देखिएका समस्या, भारतीय गुणस्तर मापदण्ड र नेपाल गुणस्तरबीचको समकक्षता कायम गर्नुपर्ने आवश्यकता लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । विशेषगरी प्लाइउड, ढोका (डोर) र काठजन्य सामग्री निर्यातका लागि आवश्यक फाइटो स्यानिटरी र फ्युमिगेसन सर्टिफिकेटसम्बन्धी कार्यविधि नहुँदा निकासी प्रक्रिया रोकिएको विषयमा व्यवसायीहरूले जोड दिएका थिए ।
सरकारले अघि सारेको काठ निर्यातको योजनालाई सफल बनाउन सल्लो र अन्य हार्डउडजन्य सामग्रीको निर्यातका लागि आवश्यक कार्यविधि तत्काल तयार गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्युसँग विभिन्न क्षेत्रका प्रतिनिधिका रूपमा छलफल भयो । म प्लाइउड उद्योगको प्रतिनिधिका रूपमा सहभागी भएको थिएँ । नेपालबाट ठुलो परिमाणमा निर्यात हुनसक्ने सम्भावना भएको प्लाइउड उद्योगको वर्तमान अवस्था, लगानी, सम्भावना र समस्याबारे हामीले जानकारी गरायौँ। प्रधानमन्त्रीज्यूले तत्काल समाधान गर्न सकिने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।’
यसैगरी, स्वदेशमा तयारी वस्तु उत्पादन गर्ने सम्भावना हुँदाहुँदै ठुलो परिमाणमा कच्चा पदार्थ बाहिरिरहेको विषयमा पनि छलफल भएको छ । यस सम्बन्धमा सरकारले आवश्यक परामर्श गरी ठोस कदम चाल्ने आश्वासन दिएको दाहालले बताए । प्रधानमन्त्रीको सक्रियतापछि निर्यातमा देखिएका क्वारेन्टाइनसम्बन्धी समस्याहरू छिट्टै समाधान हुनेमा व्यवसायीहरू आशावादी देखिएका छन् ।








