निफको अन्तरक्रिया : महिलाको हितमा काम गर्ने मन्त्री महतोको प्रतिबद्धता

काठमाडौं । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)ले विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोको प्रमुख आतिथ्यता तथा उपस्थितिमा सम्पन्न कार्यक्रमले आदिवासी महिला र कोभिड–१९ सम्बन्धी प्रकाश पारेको थियो ।

काठमाडौंको बानेश्वरस्थित अल्फा–बिटा हाउसमा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । ‘नेपाली महिलाको वर्तमान अवस्था र नेपाल सरकारका पहलहरु’ विषयक कार्यपत्र प्रस्तुतिबाट सहभागी महिलाहरु सन्तुष्ट मात्रामा लाभान्वित भएका महासंघले जनाएको छ । यसैगरी कार्यक्रममा ‘कोभिड–१९ को अवधिमा महिला तथा बालबालिकामाथि भएका जघन्य प्रकृतिका अपराध, घरेलु हिंसा, बलात्कारलगायतका विषयमा भए/गरेका अनुसन्धान कारबाही’बारेमा समेत कार्यपत्र पस्तुत भएको थियो । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाद्वारा प्रस्तुत उक्त कार्यपत्रले लक्षित समग्र समुदायलाई समेटेको र प्रहरी प्रशासनबाट भए/गरेका प्रयासहरु स्वागतयोग्य रहेको महासंघको ठहर छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले आफू सरकारमा भर्खर आएको र आएपछि आफ्नो क्षमताले भ्याएजति महिलाहरुको हक र अधिकारको सुनिश्चितताका लागि काम गरेको सुनाइन् । ‘म यो मन्त्रालयमा भर्खर आएकी छु,’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले भनिन्, ‘यद्यपि पनि म समग्र महिलाहरुका लागि काम गरि पनि रहेकी छु र अब पनि गर्नेछु ।’

निफको समग्र आन्दोलन र उद्देश्य भावी पुस्ताका लागि झनै उपयोगी हुने दृष्टान्त सुनाएकी मन्त्री महतोले निफजस्ता संघ÷संघठनहरुको आवश्यक्ता झनै खड्किँदै गएको बताइन् । ‘यस्ता संघ/संघठनहरुको महत्व अब झनै खड्किएको देखिन्छ,’ मन्त्री महतोले स्मण गरिन्, ‘मुलुक शिक्षित बनेको छ त भन्छौँ । तर, भनाइ र गराइमा फरक देखिन्छ ।’ यस्तै मन्त्री महतोले निफलाई धन्यवाद तथा बधाई पनि दिइन् ।

निफले विभिन्न मिति तथा दिवसमा भिन्न महत्वका कार्यक्रमहरु गर्दै आएको छ । खासगरी आदिवासी जनजाति महिलाहरुको ‘हक/अधिकार संरक्षक’ निफले अन्य जातिभित्रका महिलाहरुका समस्यालाई पनि उति नै प्राथमिकताका साथ उठाउँदै आएको छ ।

प्रतिक्रिया