मूल्य र मान्यतामा आधारित राजनीति आवश्यक छः वरिष्ठ अधिवक्ता अधिकारी

काठमाडौँ । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले मुलुकमा नातावाद र आफन्तवादको सट्टा मूल्य र मान्यतामा आधारित राजनीतिको आवश्यकता रहेको बताएका छन् ।

४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचन खर्चको प्रसङ्ग उल्लेख गर्दै अधिकारीले मुलुकको कुल बजेटको तुलनामा राज्यले गर्ने निर्वाचन खर्च ठूलो नभएको तर्क गरे । हालको वार्षिक २१ खर्ब रुपैयाँको बजेटलाई आधार मान्दा पाँच वर्षको अवधिमा १०० खर्ब रुपैयाँभन्दा बढी खर्च हुने र त्यसको तुलनामा निर्वाचनमा हुने खर्च प्रतिशतका हिसाबले न्यून हुने उनले बताए ।

यद्यपि, निर्वाचनका क्रममा उम्मेदवारहरूले व्यक्तिगत रूपमा गर्ने खर्च अस्वाभाविक रूपमा बढ्नु मुख्य चुनौती भएको उनको भनाइ छ । उनले लोकतन्त्रमा पद्धति र सार दुवैको उत्तिकै महत्त्व हुने उल्लेख गरे । संविधान संशोधनका सन्दर्भमा बोल्दै वरिष्ठ अधिवक्ता अधिकारीले राजनीतिक दलहरूबीच पूर्ण सहमति नभएसम्म संविधानका आधारभूत स्तम्भ र शासन प्रणालीमा फेरबदल नगर्न सुझाव दिए । मधेसवादी दलहरूसहित सबै सरोकारवाला शक्तिहरूलाई समेटेर संवाद र सहकार्यका माध्यमबाट एकमत हुनुपर्नेमा उनले जोड दिए ।

उत्तेजनामा आएर निर्णय गर्नुभन्दा पनि भविष्यमा आउने परिणामलाई विचार गरी दलहरूबीच समझदारी कायम हुनुपर्ने उनको धारणा छ । संविधानका मूल मर्म र आधारभूत संरचनामा सहमति नजुटुन्जेल वर्तमान व्यवस्थालाई चलाउन नहुने भन्दै उनले राजनीतिक दलहरूबीचको सहकार्यले मात्र यस्ता कार्यक्रमहरूको सान्दर्भिकता पुष्टि हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =