प्रणालीगत सुधार र प्रविधिमैत्री प्रशासनबाट मात्रै अर्थतन्त्रको कायापलट सम्भव: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताएका छन् ।
बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले राज्यले लिने नीति र बीउ पुँजीका रूपमा गरिने लगानीले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै राजश्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले ‘स्वैच्छिक कर अनुपालन’को अवधारणालाई जोड दिँदै करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई आग्रह गरे ।
प्रशासनिक सुधारको सन्दर्भमा अर्थमन्त्रीले पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गर्नुपर्ने बताएका उनले विभागको कार्यक्षमता बढाउन आइटी प्रणालीको स्तरोन्नति र चुस्त वाइफाई सेवा जस्ता आधारभूत आवश्यकतामा कुनै कन्जुस्याइँ नगर्न महानिर्देशकलाई निर्देशन दिए ।
सरकारले चालु आर्थिक वर्षमा खर्च कटौती र मितव्ययितालाई प्राथमिकता दिएको जानकारी दिँदै अर्थमन्त्रीले २२ वटा मन्त्रालयलाई १८ मा झार्दा करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको बताए । यस्तै, अर्थतन्त्रलाई गतिशील बनाउन यस पटकको बजेटमार्फत २७ वटा विभिन्न कानुन परिमार्जनको प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे ।
करदाताका गुनासा सुन्न र राजश्व प्रशासनमा देखिएका व्यावहारिक अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले कुनैपनि किसिमका अनियमितताका विरुद्ध प्रमाणसहित आए सिधै आफूलाई सम्पर्क गर्नसमेत कर्मचारी र सर्वसाधारणलाई आह्वान गरे ।
अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई चिर्दै आगामी पाँच वर्षभित्र बोल्ड निर्णयहरूका माध्यमबाट उल्लेख्य सुधारका नतिजाहरू जनतामाझ पुर्याउने अठोट उनले व्यक्त गरे ।








