इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा सरोकारवालासँग छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवद्र्धन तथा यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) का डीन तथा इन्जिनियरिङ कलेजहरुको छाता संगठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, संस्थानका डीन प्रा डा सुशील बहादुर बज्राचार्य, एकोन त्रिवि च्यापटरका संयोजक धन प्रसाद पौडेललगायतका पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो ।

मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई नेपालमै अवसर सिर्जना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उनले नेपालमा इन्जिनियरिङ शिक्षा प्रवद्र्धन तथा गुणस्तर अभिवृद्धिका लागि परीक्षण प्रणालीमा सुधारदेखि नीतिगत व्यवस्थापनमा मन्त्रालयले ध्यान दिने स्पष्ट पारे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्न तथा इन्जिनियरिङ अध्ययनलाई व्यवस्थित र प्रभावकारी बनाएर विद्यार्थी आकर्षण गर्नेगरी लाग्न इन्जिनियरिङ कलेजहरुलाई आग्रह गरे । शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षणका लागि प्रभावकारी शैक्षिक कार्यक्रम लागू गर्न आग्रह गरे ।

शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख तथा सहसचिव श्रीप्रसाद भट्टराईले विश्वविद्यालय अनुदान आयोग (युजिसी)को मापदण्ड अनुसार शैक्षिक गुणस्तरलाई ध्यान दिएर सस्थान अन्तर्गतका इन्जिनियरिङ कलेजमा विद्यार्थी बढाउनुपर्नेमा जोड दिए । उनले सरकारले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधारमा ध्यान दिने र शिक्षामा सबैको पहुँच विस्तार गर्नेगरी काम गरिरहेको उल्लेख गरे ।

छलफलमा एकन त्रिवि विभागका संयोजक पौडेलले इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन र प्रवेश परीक्षाको उत्तीर्णंदर वृद्धि गर्न सक्ने गरि आईओईबाटै पहल गर्न सुझब दिए ।

कार्यक्रममा काठमाडौँ इन्जिनियरिङ कलेजका सञ्चालक एवं एकोनका पूर्वअध्यक्ष इन्जिनियरि हिरेन्द्रमान प्रधान, सगरमाथा इन्जिनियरिङ कलेजका प्रिन्सिपल इन्जिनियर दक्षिणा श्रेष्ठ, कान्तिपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल डा केसर प्रसाई, ललितपुर इन्जिनियरिङ कलेजका निर्देशक ललन तिवारी, नेशनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनप्रसाद पौडेललगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =