रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नारायणकाजी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन् ।
नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको दाबी गरेका हुन् । श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका सवालमा सरकारले गम्भीर घात गरेको उल्लेख गरे ।
नेपालले भारतको भूमि मिचेको भनी संसद्मा दिइएका अभिव्यक्तिको रास्वपाका नेताहरूले समर्थन गरेको र त्यसलाई पुष्टि गर्न खोजेको भन्दै उनले आपत्ति जनाए । नेपाली राजनीतिको इतिहासमा यसअघि कहिल्यै यस्तो प्रकृतिको राष्ट्रहित विपरीत र समाजलाई विभाजित गर्ने काम नभएको उनको भनाइ छ ।
संविधान र लोकतन्त्रको रक्षाका सम्बन्धमा बोल्दै नेता श्रेष्ठले वर्तमान सरकार संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख’ राज्य र अर्थतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाए । संविधान संशोधनको विषयमा टिप्पणी गर्दै उनले संविधानको मूल मर्म र लोकतन्त्रको रक्षालाई केन्द्रमा राखेर मात्र संशोधन प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए ।
लोकतन्त्रको हत्या गर्नेगरी ल्याइने संशोधनको विरुद्धमा उभिनुपर्ने उनको तर्क छ । नेता श्रेष्ठले सरकारले वाक् तथा संगठन स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको बताए । । शैक्षिक र प्राज्ञिक संस्थाहरूलाई दलीयकरणबाट मुक्त गर्ने बहानामा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै उनले विरोध जनाए ।
सरकारले एकातिर दलीयकरण मुक्त भन्ने तर अर्कोतिर आफ्ना पक्षका व्यक्तिहरूलाई महत्त्वपूर्ण संवैधानिक र न्यायिक निकायमा नियुक्ति दिने दोहोरो चरित्र देखाएको उनको आरोप छ ।
‘रास्वपाको नेतृत्वमा सरकार अघि बढिरहेको वर्तमान अवस्थाले राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र श्रमजीवी वर्गका अधिकारमाथि गम्भीर चुनौती सिर्जना गरेको देखिन्छ । राष्ट्रिय हितका विषयमा भ्रम फैलाउने, संविधानको समाजवादउन्मुख मूल भावना विपरीत नीति अघि सार्ने तथा संविधान संशोधनको नाममा यसको आधारभूत मर्म कमजोर बनाउने प्रयास भइरहेको आरोप छ,’ नेता श्रेष्ठले भने, ‘त्यसैगरी अभिव्यक्ति स्वतन्त्रता, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि नियन्त्रण गर्ने प्रवृत्ति बढेको तथा सानो आलोचनामै मुद्दा र पक्राउको अभ्यास देखिएको बताइएको छ। सुकुम्वासीमाथि गरिएको बलपूर्वक हटाउने कार्य र अमानवीय व्यवहारप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ । ’
सुकुम्बासी समस्याका सन्दर्भमा बोल्दै श्रेष्ठले सरकारको कार्यशैली अमानवीय भएको बताए । डोजर र सुरक्षाकर्मीको प्रयोग गरी सुकुम्बासीहरूलाई रातारात उठाइएको, होल्डिङ सेन्टरमा आधारभूत सुविधाबाट वञ्चित गरिएको र उनीहरूलाई अपमानजनक व्यवहार गरिएको भन्दै उनले सरकारको आलोचना गरे ।
नेता श्रेष्ठले श्रमजीवी र उत्पीडित वर्गमाथि अन्याय हुँदा कम्युनिष्ट पार्टी र तिनका भ्रातृ संगठनहरूले सशक्त प्रतिरोध गर्न नसक्नुमा वैचारिक र सांस्कृतिक स्खलन मुख्य कारण रहेको बताए । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि आइलागेको संकट टार्न कम्युनिष्टहरूले आफूलाई सुधार गर्दै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।








