प्रधान न्यायाधीशप्रति लक्षित गर्दै ओलीले भने- ‘लोकतान्त्रिक अभ्यासमा छौँ, नबिर्सौँ’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एव्म पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको स्वच्छ अभ्यास गर्न आग्रह गरेका छन् । बिहीबार (आज) गृहजिल्ला झापा पुगेका ओलीले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति लक्षित गर्दै भने, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौँ । नबिर्सौँ । जे मन लाग्यो त्यही गर्नु लोकतान्त्रिक अभ्यास होइन ।’

आफैँले बिर्तामोडमा आयोजना गरेको जलपान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा पछिल्लो समय लोकतान्त्रिक प्रणाली भड्किएको र ‘चिटिङ्ग’ भइरहेको बताए । शुभकामना आदान–प्रदान गर्दैगर्दा आफ्नो भनाइ र आग्रह कोही कसैप्रति लक्षित नभएको उल्लेख गर्दै ओलीले भने, ‘लोकतान्त्रिक प्रणाली आफ्नो लागि मात्रै होइन, जनताका लागि हो, देशका लागि हो, परिवर्तनका लागि हो, स्वच्छन्दताका लागि हो, निष्पक्षताका लागि हो, जे पायो त्यहीका लागि होइन ।’

आफूले समग्र देशको स्थिति हेरेर लोकतन्त्रको विषयमा आफ्नो कुरा राखेको ओलीको भनाइ थियो । ‘बडादसैँ आइसक्यो । यो हामी सबैको चाड हो । यसरी दसैँकै छेकमा म कसैको टिका–टिप्पणी, आलोचना, विरोध वा कटाक्ष गर्दिनँ,’ ओलीले भने, ‘मैले केवल नेपालका लागि बोलेको हुँ । देशका लागि, जनताका लागि बोलेको हुँ । हामी सबैले यतातर्फ सोच्नुपर्छ । देश लोकतान्त्रिक प्रणालीउन्मुख जरुर हुनुपर्छ । सुदृढ बनाउनुपर्छ । लोकतान्त्रिक विधि, आचरण, पद्धति अनि बाटोलाई पछ्याउनुपर्छ ।’

मुलुकमा शक्ति सन्तुलन, पृथकीकरण, त्यसको सीमा, संविधानसम्मत् ढंगले नचलेको भन्दै ओलीले असन्तुष्टिसमेत जनाए । ‘वास्तवमा लोकतन्त्रको अभ्यास सही तरिकाले भइराखेको छैन,’ ओलीले भने, ‘जसलाई जे मन लाग्यो त्यही गर्नु लोकतन्त्र होइन । यो संविधानसम्मत् रूपमा चल्नुपर्छ । कानूनसंगत चल्नुपर्छ ।’

नव दुर्गा भवानीसँग सबैलाई लोकतान्त्रिक प्रणालीतर्फ सोच्ने सद्बुद्धि दिन भनेका ओलीले थपे, ‘सबैलाई अलिक परैसम्म सोच्ने सद्बुद्धि दिनुस् । दीर्घकालीन र तथ्यपरक सोच्न सकौँ । आफ्नो लागि मात्रै होइन, देश जनताका लागि सोच्न सकौँ ।’ यस्तै ओलीले दसैँ, दीपावली तथा छठको शुभकामना व्यक्त गर्दै समाजमा आपसमा दूरी नबढाउन आग्रह गरे ।

प्रधान न्यायाधीश जबराका जेठान गजेन्द्रबहादुर हमाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । यद्यपि उनले राजीनामा गरिसकेका छन् । गत शुक्रबार मन्त्रीको शपथ ग्रहण गरेका हमालले दुई दिनपछि (आइतबार) राजीनामा दिएका हुन् । उनी मन्त्री हुनुपूर्व नै उनी प्रधान न्यायाधीश जबराको कोटाबाट मन्त्री हुने हल्ला चलिसकेको थियो । यसपछि उनी मन्त्री बनेपछि आलोचना बढी भयो र आलोचनाका बाबजुत उनले राजीनामा गरेका छन् ।

ओलीले उनै हमालतर्फ लक्षित गर्दै लोकतन्त्रको सवाल उठाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *