बहुमत जुटाएरै देखाउँछु : मुख्यमन्त्री आचार्य

काठमाडौँ । प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यले बहुमत जुटाएरै देखाउने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिवसमेत रहेका आचार्यले आफूले विश्वासको मत पाउने दाबीसमेत गरे । प्रदेश सभामा रहेका अन्य दलहरूसँग छलफल तथा संवाद भइरहेको उल्लेख गर्दै आचार्यले भने— ‘शुरूमा हामीसँग बहुमत थियो । तर, राष्ट्रिय राजनीतिमा आएका समस्याका कारण हामी अहिले बहुमतमा छैनौँ । अरुसँग मिलेर बहुमत जुटाउने काम गरिरहेका छौँ । त्यसमा सम्भव हुन्छौं भन्ने लागेको छ । हामी बहुमत जुटाउँछाैँ ।’

आचार्य बिहीबार (आज) दिउँसो १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेका छन् । ओलीले आयोजना गरेको जलपान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन् । कार्यक्रमबीच आचार्यले अप्ठ्यारो स्थितिमा आफू नेतृत्वको प्रदेश सरकार बनेको बताए, भने— ‘सरकार नै निकै अप्ठ्यारो परिस्थितिमा बनेको थियो ।’

माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एककिृत समाजवादी) गठन गरेपछि प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । आचार्यले दसैँपछि मात्रै विश्वासको मत लिने बताउँदै आएका छन् । यसबीचमा आचार्यले विपक्षी दलहरूसँग कुराकानी गरिरहेका छन् । यद्यपि केन्द्रीय गठबन्धनका कारण उनी सफल भइरहेका छैनन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच बनेको केन्द्रीय गठबन्धनअनुसारको प्रदेश सरकार बनाउने कसरत भइरहेको छ । केन्द्रीय सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार प्रदेश नं. १ मा माधव नेतृत्वको एकीकृत समाजवादीले पाउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *