एमाले–नेपाली कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सहकार्य गर्ने सहमति, पाँच प्रदेशको नेतृत्व टुंगियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । शनिबार सार्वजनिक भएको सहमति पत्रमा प्रदेश सरकार गठन, नेतृत्व बाँडफाँट तथा बाँकी प्रदेशमा अन्य दलसँगको परामर्शमार्फत निर्णय गर्ने विषय उल्लेख गरिएको छ ।
२०८३ साउन ९ गते हस्ताक्षर गरिएको सहमति पत्रमा प्रदेश सभाहरूमा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुई दलबीच सहमति भएको जनाइएको छ।
सहमतिअनुसार सातै प्रदेशमा दुवै दलले सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् । सरकारको नेतृत्व बाँडफाँटअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गर्ने सहमति भएको छ ।
त्यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहकार्यको स्वरूप तय गर्ने सहमतिमा उल्लेख गरिएको छ ।
सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।
यस सहमतिसँगै प्रदेश सरकारहरूको पुनर्गठन र सत्ता समीकरणमा नयाँ मोड आउने अपेक्षा गरिएको छ । विशेषगरी पाँच प्रदेशको नेतृत्व टुंगो लागेपछि ती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने अनुमान गरिएको छ भने मधेश र गण्डकी प्रदेशको नेतृत्व भने अन्य दलहरूसँगको छलफलपछि मात्र हुनेछ ।









