कांग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बलियो संगठन निर्माण गरी कांग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउने बताएका छन् ।
४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई समयको माग र कार्यकर्ताको चाहनाअनुसार अगाडि बढाउनुपर्ने बताए । । पार्टीको गुम्दै गएको ‘जीवनदायिनी शक्ति’ लाई पुनर्जागृत गर्न विशेष महाधिवेशनमार्फत युवा नेतृत्व चयन गरिएको उनको स्पष्टोक्ति छ ।
नेपाललाई ‘देवभूमि’ को संज्ञा दिँदै घिमिरेले यहाँको जीवनदायिनी शक्ति र ऊर्जा विघटित हुँदै गएको र त्यसलाई संगठित गर्न आवश्यक रहेकाले विशेष महाधिवेशन गरिएको उल्लेख गरे । सोही सन्दर्भलाई पार्टीसँग जोड्दै उनले कांग्रेसको ऊर्जा पनि विघटनतर्फ जाँदै गरेको र पार्टीको जीवनदायिनी शक्ति क्षीण हुँदै गएको महसुस हुन थालेकाले पुनर्जीवन दिन विशेष महाधिवेशनबाट युवा शक्ति ल्याउनुपरेको बताए ।
महामन्त्री घिमिरेले देश, समय र युगको मागअनुसार पार्टीका नेताहरूले रोजेको युवा नेतृत्वमार्फत कांग्रेसको शक्ति फर्काएको बताए । कांग्रेसलाई युवा, महिला र विभिन्न पेसा–व्यवसायमा आबद्ध आम नागरिकहरूको ‘साझा घर’ बनाइने उनको भनाइ छ ।
महामन्त्री घिमिरेले पार्टीमा सबैले उत्साहपूर्वक काम गर्ने वातावरण सिर्जना गरी संसारलाई नमुना संगठन देखाउने प्रतिबद्धता व्यक्त गर्दै घिमिरेले सम्पूर्ण कार्यकर्ताहरूलाई यस दिशामा एकजुट भई अगाडि बढ्न आह्वान गरे ।








