सिरहाको लहानमा प्रहरीले गोली चलायो, ६ जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोक क्षेत्रमा विशेष अपरेशन सञ्चालन गर्दै गोली प्रहारपछि ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार भारतबाट नेपालतर्फ खैरो हेरोइन ल्याई ओसारपसार तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । बुधबार साँझ पक्राउ गर्ने क्रममा अभियुक्तहरूले प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि चेतावनीस्वरूप ५ राउन्ड हवाई फायर गरेको थियो ।

त्यसपछि पनि नरोकेपछि प्रहरीले गोली चलाउँदा भारतको बिहार राज्यका २२ वर्षीय बिद्यानन्द यादव र सप्तरीको रूपनी गाउँपालिका–१ निवासी ४० वर्षीय मो. नासिर घाइते भएका छन् । यादवको बाँया खुट्टा र नासिरको दायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । दुवै जनाको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनास्थलबाट २४३ ग्राम खैरो हेरोइन, दुई थान मोटरसाइकल र सात थान मोबाइल फोन बरामद गरेको जनाएको छ । पक्राउ पर्ने अन्यमा सप्तरीको बोदेबरसाइन नगरपालिका–२ का २८ वर्षीय श्यामु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मो। जमसिर आलम, बोदेबरसाइन–२ का २४ वर्षीय बैजनाथ प्रसाद यादव र डाक्नेश्वरी–२ का ३२ वर्षीय मो. इमामुदिन रहेका छन् ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =