एमबिएसको प्रश्नपत्र आउट प्रकरण: ‘सुलभ सर’ सहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ परेका छन् ।

साउन ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

घटनाबारे शिक्षा मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरेका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूबारे केहीबेरमा औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।

मन्त्रीको सचिवालयका एक सदस्यका अनुसार दुई जनालाई नियन्त्रणमा लिइएको छ । ‘अहिले मन्त्रीज्यू र आईजीपीबीच छलफल भइरहेको छ । घटनाबारे उहाँहरूले सार्वजनिक गर्नुहुन्छ,’ उनले भने ।

परीक्षा दिउँसो १२ बजे सुरु भएको थियो । तर परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा प्रश्नपत्र पठाइएको दाबी गरिएको थियो । त्यसपछि प्रश्नपत्र विभिन्न सामाजिक सञ्जालमार्फत फैलिएको थियो ।

फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले प्रश्नपत्र बाहिरिएको विषयमा त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउँदै सम्बन्धित ह्वाट्सएप समूहका स्क्रिनसटसमेत सार्वजनिक गरेको थियो ।

सार्वजनिक स्क्रिनसटमा ‘सुलभ सर’ नामका व्यक्तिले प्रश्नपत्र पठाएको देखिन्छ । त्यसपछि समूहमा रहेका केशव भट्ट नामका व्यक्तिले ‘सर सोलुसन पनि पठाइ दिनु न’ भन्दै आग्रह गरेको र केही समयपछि अर्को पीडीएफ फाइल पठाइएको देखिएको छ ।

यस्तै, सोही समूहका ‘सुजन पौडेल’ नामका व्यक्तिले आगामी इकोनोमिक्स विषयको परीक्षामा ढिला जाने र यसरी नै प्रश्नपत्र पठाइदिन आग्रह गरेको देखिएको छ । उक्त ह्वाट्सएप समूहमा एक हजार २३ जना सदस्य रहेको बताइएको छ ।

प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गर्दै अनुसन्धान र कानुनी कारबाहीका लागि आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =