एक्लाएक्लै भेटेपछि प्रचण्ड र कतारका अमिर नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ । दुई देशबीचको उच्चस्तरीय वार्ता राजधानीको सोल्टी होटलमा जारी रहेको हो ।

वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चारमन्त्री रेखा शर्मा, श्रममन्त्री डीपी अर्याललगायत सहभागी छन् । त्यस्तै कतारी अमिर सहितका उच्च अधिकारी उपस्थित छन् ।

कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल-कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नेछन् । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार अपराह्न यहाँ आइपुगेका हुन् । कतारी विशिष्ट अतिथि आजै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *