युवा पलायन रोक्न बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने बताएकी छन् ।

आइतबार मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालबाट गत आर्थिक वर्षमा मात्रै ६७ अर्ब बराबरको सफ्टवेयर निर्यात भइरहेको एक अध्ययनबाट देखिएको बताइन् । उनले युवा पलायन रोक्न, देशभित्रै रोजगारी सिर्जना गर्न र बिना अवरोध स्वतन्त्र रुपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् ।

उनले प्रविधि र प्रणालीहरूको सुरक्षित र जबाफदेही प्रयोग, एवं डिजिटल इकोसिस्टम निर्माणका लागि आवश्यक कानुनहरू सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक निर्माणलाई तीव्रता दिएको पनि बताइन् । उनले विश्व अर्थतन्त्र नै शिथिल भएको अवस्थामा सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै प्रविधिमैत्री संरचना र सोही बमोजिम दक्ष जनशक्ति व्यवस्थापन गर्नसके सुशासन र आर्थिक समृद्धि हासिल गर्न सकिने सरकारको बुझाइ रहेको बताइन् ।

शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रमा समेत सूचना र प्रविधिको क्षेत्रमा बढोत्तरी भएको दाबी गरिन् । उनले नेपाल जस्तो भूपरिवेष्टित देशले सूचना प्रविधि उद्योगमार्फत रोजगारी सिर्जनाका साथै निर्यात प्रवर्द्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ र विकसित गर्नुपर्ने बताइन् । सूचना प्रविधि उद्योगलाई एकै थलोबाट सञ्चालन गर्न आइटी पार्क, सूचनाप्रविधि हब जस्ता अवधारणालाई पनि सरकारले नजिकबाट हेरिरहेको बताइन् ।

उनले भनिन् ‘ प्रत्येक वर्ष १० हजार भन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेका छन् । नेपालबाट गत आर्थिक वर्षमा मात्रै ६७ अर्ब बराबरको सफ्टवेयर निर्माण भइरहेको एक अध्ययनबाट देखिएको सन्दर्भमा युवा पलायन रोक्न, देशभित्रै रोजगारी सिर्जना गर्न र बिना अवरोध स्वतन्त्र रुपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिनेछ ।’

मन्त्री शर्माले सूचना तथा प्रविधिको विकास, बिस्तार र लगानीका सन्दर्भमा सरकार गम्भीर रहेको बताइन् । उनले देशमा लगानी भित्र्याउन आवश्यक कानुन परिमार्जनका लागि सरकार सक्रियतापूर्वक लागिरहेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *