मकालु रिभ्यु

‘पास्ट लाइभ्स’ ले देखाएको आप्रवासी खुड्किलो

यो फिल्ममा केवल तीन मुख्य पात्र छन् ।

एक ना योङ हुन् जो बालकै हुँदा परिवारसँगै कोरियाबाट क्यानडा पुग्छिन् । अर्को हेइ सुङ जो कोरियामा नै रहन्छन् । अनि अर्को आर्थर जो यहुदी हुन् । उनी एक लेखकको रूपमा अमेरिका नै बसिरहेका छन् । 

ती तीन पात्रहरू संयोगले एक अर्कासँग जोडिएका छन् । पहिलो दुई बाल्यकालदेखिका साथी हुन् । र आर्थर र ना योङ श्रीमान् श्रीमती । 

यो फिल्ममा केवल यति तीन मुख्य पात्र छन् । 

तर ती तीन पात्रमा यति गहिराई छ कि ती मार्फत उनीहरू बसिरहेको देश चिहाउन सकिन्छ । उनीहरूले बोकिरहेको महत्त्वाकाङ्क्षा उनीहरूजस्ता अरू कयौँको महत्त्वाकाङ्क्षा भेट्न सकिन्छ । उनीहरूको कथामा कुनै देशको पहिचान, भाषा वा संस्कार हुनु के हो पाउन सकिन्छ । 

समग्रमा उनीहरूको कथामा आप्रवासन र यसले ल्याएका अनेकौँ आयामहरूलाई भेट्न सकिन्छ । पुँजीवाद र यसले दिँदै गरेका अनेकौँ चुनौतीहरूलाई निहाल्न सकिन्छ । 

हरेक मान्छेले आफूभित्र आफ्नो देशको इतिहास बोकेको हुन्छ । उनीहरूको कथामा उनीहरूको लामो इतिहास भेट्न सकिन्छ । 

यो दृश्यको ब्लकिङ हेर्नु त । श्रीमान् र श्रीमती नजिक छन् बाल्यकालको साथी टाढा ।

खासमा एउटा फिल्म बलियो हुन धेरै थोक चाहिन्न । धेरै चरित्र चाहिन्न । केवल चाहिन्छ त तीनको गहिराई । ती चरित्रले बाँचेको जीवनपद्धतिको बलियो प्रस्तुति । 

सेलिन सोङ निर्देशित ‘पास्ट लाइभ्स’ फिल्मले यी सबै कुरा देखाउँछ ।

फिल्मको सुरुवाततिर एउटा संवाद छ । जसमा ना योङ आमालाई भन्छिन् ‘मेरो अङ्ग्रेजहरूको जस्तो नाम छैन ।’

उनीहरू त्यति बेला कोरियामा छन् । उनले भनेको त्यो संवादमा पश्चिमी समाजको प्रभाव कसरी कोरियामा पुगिसकेको थियो भन्ने पाउन सकिन्छ । उनलाई त्यस्तो भन्ने के ले बनायो होला ? हुनसक्छ शिक्षाले । वा हुनसक्छ त्यो समयमा अरू धेरै उनका साथीले अङ्ग्रेजी नाम राखेका थिए । उनलाई पनि त्यस्तै राख्न मन लाग्यो । 

उनीहरू क्यानडा जाने हुन्छन् । उनी क्यानडाबाट फेरि अमेरिका पुग्छिन् । 

नाटक निर्देशक बन्छिन् । 

उनको र हेइ सुङको बाह्र वर्षपछि अनलाइनमा भेट हुन्छ । त्यति बेला उनको नाम अंग्रेजी भइसकेको हुन्छ । 

नोरा । यो नाम आफैँमा बिम्ब छ । नोरा हेनरिक इब्सनको चर्चित नाटक ‘द डल्स हाउस’ की मुख्य पात्र हुन् । उनी नाटकको अन्तिममा आफ्नो श्रीमानको घर छोडेर निस्किन्छिन् । 

तिमीले नाम परिवर्तन गरेछौ सुङ भन्छन् । अनि थप्छन् ‘म तिमीलाई ना योङ नै भनौँ ?’

उनी भन्छिन् ‘हुन्छ तर आजकाल मेरो आमा नै पनि मलाई त्यो नामले बोलाउनुहुन्न ।’ 

नामको बारेमा गरिएको एउटा साधारण संवादले निक्कै गरिरोगरि उनीहरूको बाह्र वर्षलाई बताइदिएको छ । त्यो बिचमा छोरीको नाम नै अर्को भन्ने गरी एक आप्रवासी परिवार कसरी परिवर्तन भयो होला त्यो अनुमान गर्न सकिन्छ । सबटेक्स्ट कसरी लेख्ने वा संवादमा भएको सबटेक्स्टले कुनै चरित्र वा कथाको विकासक्रमलाई कसरी भन्न सक्छ भन्ने कुरामा यो फिल्म उदाहरणीय छ । 

अनि फेरी पनि अङ्ग्रेजी नाम उनको सपना थियो । उनले आफ्नो सपना पछ्याइछन् भन्ने पनि बुझिन्छ । 

‘किन जाँदै छौँ यहाँ सबै थोक छ त ?’ केटाकेटीमा ना योङ र हेइ सुङ पार्कमा खेल्न गएको बेला ना योङकी आमालाई हेइ सुङकी आमा सोध्छिन् । 

‘ठाउँ छोड्दा केही चिज पछाडि छोडिन्छ तर केही अगाडि पाइन्छ पनि ।’ 

यसलाई हरेक आप्रवासी अनुहारले विश्वास गरेको सत्य भनेर भन्न सकिन्छ । देश छोड्ने सबैको फरक फरक कारण हुन्छ । हाम्रो नेपालबाट पनि बर्सेनि लाखौँ मानिसहरू देश छोडिरहेका छन् । यो क्रम आज मात्र सुरु भएको हैन । र उनीहरूले देश छोड्दा धेरै कुरा पछाडि छुटेको पनि छ । तर त्यसले अगाडि पनि धेरै कुरा दिएको छ । 

यो फिल्ममा ना योङले अगाडि आर्थरलाई श्रीमान् पाएकी छन् । पछाडि हेइ सुङलाई गुमाएकी छन् । 

अगाडि सपनाको दौड पाएकी छन् । पछाडि आफ्नो बाल्यकाल गुमाएकी छन् । 

आफ्नो श्रीमानसँग न्युयोर्कको बारमा बसिरहेको बेला त्यसैले त उनी बाल्यकालको हेइसुङ तिम्रो सामुन्ने नभए पनि यो नोरा भित्र कतै न कतै छ भन्ने आशयको संवाद बोल्छिन् । 

फिल्मको एउटा संवाद उनीहरू बाल्यकाल भएको बेला देखि बाह्र वर्षपछि भेटेको देखि पुनः अर्को बाह्र वर्षपछि भेट्दा पनि दोहोरिन्छ । उनलाई कोरियाको स्कुलमा हुँदा क्यानडा गएर कोरियाको कसैले नपाएको साहित्यमा नोबेल पुरस्कार जित्छु जस्तो लाग्थ्यो । बाह्र वर्षपछि कुराकानी हुँदा उनी आफूलाई पुलिट्जर पुरस्कार जित्न मन भएको सुनाउँथिन् । त्यसको बाह्र वर्षपछि भेट्दा भने उनलाई कुनै पनि पुरस्कार पाउने रहर हुँदैन । 

यो संवादले एक आप्रवासी सपना मात्र हैन हामी सबै मानवहरूको आकाङ्क्षाहरूको सीमिततालाई देखाएको छ । हामीले सुरुमा खोज्ने चिज ठुलो हुन्छ । त्यो बिस्तारै थोरै सानो हुँदै जान्छ । अनि अन्तिममा त्यो एकदमै साधारण उद्देश्यमा आइपुग्छ । जीवनलाई सहज ढङ्गले बिताउनु आकाङ्क्षाहरूको भारी बोक्नुभन्दा धेरै सजिलो छ भन्ने कुरा पनि यो संवादले भनिदिएको छ । 

सँगै आप्रवासी मानिसहरूको खुम्चँदो सपनालाई पनि त्यसले व्यङ्ग भने गरेको छ । कहिलेकाहीँ जे पाउन भनेर कुनै चिज छोडेको हुन्छ त्यो भन्दा सानो कुरा पनि पाउन सकिन्छ । जस्तो कि यो फिल्ममा योङले अङ्ग्रेजी नामको सपना पालेकी थिइन् । उनले क्यानडा गएर त्यो पाइन् पनि । तर त्यसले मात्र उनलाई सन्तुष्टि दिएको छैन । उनलाई आफ्नो हराएको भाषाले छोडेको छैन । एउटा दृश्यमा उनको श्रीमान् उनलाई भन्छन् ‘तिमी सपनामा बोल्दा जहिल्यै कोरियनमा बोल्छौ ।’ मतलब उनले सपना देख्ने भाषा उनी पुगेको देशको संस्कृतिले पनि मेटाउन सकेको छैन । 

यो फिल्म हेरिसकेपछि म अमेरिकामा बस्ने मेरो साथी समुन्द्रराज घिमिरेसँग कुरा गरिरहेको थिए । उनले पनि त्यही कुरा भने । उनले सपना जहिल्यै नेपालीमा देख्छन् । उनी जस्तै अर्को देशमा हुने हरेक नेपालीले सपना नेपालीमा देख्छन् । उनी जुन ठाउँबाट आएका हुन् त्यो कुरा उनको भित्र कतै कहिल्यै पनि नहराउने गरी बस्छ । 

त्यो हो उनको पहिचान ।

सँगै उनीहरू बाह्र वर्षपछि गरेको कुराकानीमा सहरको बारेमा पनि धेरै कुरा आउँछ । उनीहरू रुने कुरा गर्छन् । युवति सानोमा हुँदा धेरै रुन्थिन् । उनी जहिल्यै पहिलो हुने । एउटा दृश्यमा दोस्रो हुनुपर्दा पनि उनी रोइरहेकी थिइन् । 

‘अहिले रुँदैनौँ ?’ उ सोध्छ । थप्छ ‘न्युयोर्क सिटीमा रुन मिल्दैन ?’

‘पहिला रुन्थेँ तर कसैलाई त्यसले फरक नपर्ने रहेछ भन्ने भएपछि रुन छोडेँ ।’

उनले भनेको यो संवादले शहरी जीवनको एलिनेसनलाई पनि देखाइदिएको छ । 

उनीहरूको संवाद राम्रो भइरहेको बेलामा नै युवती बाँकी बोल्न नसक्ने बताउँछिन् । ब्रेक लिने भन्छिन् । आफू न्युयोर्कमा केही पाउनलाई आएको बताउँछिन् ।

त्यो विषयले फेरी पनि आधुनिक महत्त्वाकाङ्क्षा वरपर आइपरेका आधुनिक व्यवधानहरू देखिन्छन् । उनीहरू एक अर्कासँग सुन्दर तरिकाले बोलिरहेका थिए । एक अर्काको नोस्टाल्जियासँग नजिक भइरहेका थिए । 

तर फेरी पनि नोस्टाल्जियाले व्यवहारिक अर्थमा धेरै फरक पार्दैन । फेरी पनि हामीले बिताउने भनेको वर्तमान हो । वर्तमान अक्सर विगततिर फर्किन सक्दैन । 

उनीहरू फोन राख्छन् । क्यामेरा युवतीको पछाडिबाट उनीतिर क्लोज आउँछ । उनी रुन्छिन् । तर रोएको ठ्याक्कै देखिँदैन । 

सहरमा मान्छे रुन्छन् तर रोएको ठ्याक्कै देखिँदैन । 

क्यामेरा झ्यालतिर सिफ्ट हुन्छ । झ्याल बाहिर पुरै दृश्य छोपिने बिल्डिङ छ । त्यो बिल्डिङको टुप्पाबाट घाम उदाउँछ । 

सहरमा बिल्डिङको टुप्पोबाट घाम उदाउँछ । 

अनलाइनमा बोल्ने बेला एक दृश्यमा केबलकार चढेका हेइ सुङ भन्छन् ‘यहाँबाट सियोल देखिन्छ ।’ 

फिल्ममा उनीहरूको कथाको गहिराई थाहा भएपछि सहरमा हरेक यस्ता दृश्यले पनि ठुलो महत्त्व बोक्छन् । कथाको सेटिङमा भएको कुरालाई कसरी उच्चतम गहिराइमा फिल्मको उद्देश्य बताउनेगरि भन्न सकिन्छ भन्ने पनि यो फिल्मले देखाइदिएको छ । 

केही समयलाई लिने भनेको ब्रेक अर्को बाह्र वर्ष लम्मिन्छ । 

आधुनिक सहरमा प्राय यस्तो हुन्छ । त्यहाँ समय चिप्लिएको थाहा नै हुँदैन । चाँडै भेट्ने भनेको साथी नभेटेको महिनौँ भइसकेको हुन्छ । चाँडै आउँछु भनेको आफन्तको घर नटेकेको वर्षौँ कटिसकेको हुन्छ । 

बोल्ने नै भनेको मान्छेसँग नबोलेको वर्षौँ भइसकेको हुन्छ । 

मान्छेसँग कि त बिहेमा भेट हुन्छ । कि त मलामी मा । 

यो आधुनिक यथार्थ उनीहरूले एक अर्कालाई भेट्न लगाएको समयले बिम्बात्मक रूपमा देखाएको छ ।

उनीहरूको यो भेटमा गएका ठाउँहरूको पनि उस्तै महत्त्व छ । उनीहरू न्युयोर्कको पुलमुनी हिँड्दै गफ गर्छन् । त्यतिन्जेलसम्म उनीहरूको आवाज मात्र सुनिन्छ । फ्रेम वाइड नै बस्छ । 

कति फ्रेममा उनीहरू कुनै फ्रेममा थुनिएजस्ता देखिन्छन् ।

उनीहरू स्ट्याचु अफ लिबर्टी घुम्न जान्छन् । क्यामेरा स्ट्याचुबाट पारी देखिएको गगनचुम्बी भनवहरुमा डुलिबस्छ । 

खासमा सहरमा महत्त्वपूर्ण त मान्छे हो । ती हरेक भवनमा पनि उनीहरू जस्तै नै कोही मान्छे होलान् । अरू अरू देशबाट आइपुगेका । अरू अरू संस्कृतिसँग घुलेका । तीनले पनि आफ्नो जीवनमा त्यस्तै संवाद चाहिरहेका होलान् । 

उनीहरू घुमेर फर्किएपछिको एउटा दृश्यमा श्रीमान् सोध्छन् ‘कहाँ कहाँ गयौँ ?’

‘स्ट्याचु अफ लिबर्टी’ उनीहरू भन्छन् । 

‘म त्यहाँ पुगेको छैन ।’ उ भन्छ । 

उ त्यहाँ वर्षौँदेखि त तर पनि पुगेको छैन । उसले भनेको त्यो कुराले पनि सहरको प्राथमिकतालाई बुझाउँछ । बाहिरबाट आउनेहरू गइसके । उ भने पुगेको छैन । 

फिल्मको सबैभन्दा महत्त्वपूर्ण एउटा बिम्ब छ खुड्किलाको । त्यसले समग्र फिल्मलाई नै समेटेको छ । 

बच्चा हुँदा कोरियाको उकालोमा उनीहरू दुई जना उक्लिरहेका हुन्छन् । स्कुलबाट फर्किरहेका । 

केही बेरमा एउटा चोक आउँछ । बालिका चोकबाट पनि उकालै उकालो खुड्किला उक्लिन्छिन् । बालक त्यहाँबाट देब्रेतिर हुँदै तेर्सिन्छन् । 

त्यो क्रम आज पनि जारी छ । उनी कोरियामा छन् । धेरै ठुलो उद्देश्य छैन । साधारण शिक्षक छन् । उनको जीवन तेर्सो हिँडिरहेको छ ।

उनी न्युयोर्कमा छन् । उनको सपना ठुलो छ । नाटकमा काम गर्ने चाहना छ । ‘म कसैको लागि पनि नाटकको रिहर्सल छुटाउन सक्दिनँ’ उनी भनिरहन्छिन् । 

उनले आर्थरसँग बिहे गरेकी छन् । आर्थर नाम पनि आफैँमा बिम्ब छ । आर्थर मिलर जसले अमेरिकी सपनाको बोझ देखाउने नाटक ‘डेथ अफ द सेल्सम्यान’ लेखेका थिए । 

उनीहरू बस्ने न्ययोर्को फ्ल्याटमा चढ्न पनि खुड्किला उक्लिनुपर्छ । 

उनीहरू दुवै फरक फरक संसारमा छन् । फरक फरक बाटोमा हिँड्दा छन् । 

‘तपाईँलाई सबैभन्दा गज्जब कुरा के लाग्यो ?’

मैले समुन्द्रराज जी लाई सोधेँ । 

‘यही कि यसले युवती कोरिया फर्किएको देखाएन ।’

फिल्मको सबैभन्दा ठुलो शक्ति यही हो । यसले उनी फर्किएको देखाएन । उनी कोरियाको सम्झनासँग गाँसिएकी छन् । उनी कोरिया जानलाई ठुलो कारण पनि छ । तर पनि उनले रोजेको जीवन न्युयोर्कको हो । एउटा संवादमा उनी भन्छिन् ‘म कुनै ड्युडको लागि आफ्नो नाटकको रिहर्सल छोड्न सक्दिनँ ।’

उनीभित्र धेरै वटा दोधार छन् ।

को सँग छैनन् ? 

ट्रेलर हेर्नलाई यहाँ क्लिक गर्नुहोस् ।

लेखकबाट थप:

बार्बी सोध्छिन्- ‘यहाँ कुनै महिला सिइओ छैनन् ?’

‘तपाईँ कति धनी हुनुहुन्छ ?’

यो फिल्म एटम बमको कथा मात्र हैन

महिलाको लुगा नाप्ने इन्चिटेपमार्फत ओङ कार वाइले देखाएको शहरको लम्बाई

बच्चा जसरी सोच्न सिकाउने टम ह्याङ्सको फिल्म

सोच्न नसक्ने मेयरको कथा भन्दै ‘एलिस एण्ड द मेयर’ले गरेको राजनैतिक बहस

यौनक्रीडा देखिने ऐनामार्फत कोङ्कणाले देखाएको दुई समाज

मुमताजलाई हामीले मारेको हो

कमल थापालाई एउटा ‘प्राकृतिक’ फिल्म सिफारिस

हाम्रा ‘नयाँ डिक्टेटर’ सम्झाउने ‘द डिक्टेटर’

हामीले संवाद काट्नु भनेको फिल्म यही हो ? यही ?

पत्रकारितालाई आफ्नो साख सम्झाउने ‘स्कुप’

गणतन्त्र दिवसलाई एउटा सिनेमा सिफारिस

‘सिर्फ एक बन्दा काफी नही है’

एउटा पत्रिकाले खोतलेको यौन दुर्व्यवहारको कथा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *