हाम्रा ‘नयाँ डिक्टेटर’ सम्झाउने ‘द डिक्टेटर’

‘द डिक्टेटर’ फिल्ममा एउटा वादिया भन्ने काल्पनिक देश छ । त्यहाँ एक जना अलादिन नामको सनकी राजा छ । ऊ सनकी छ, किनकि ऊ राजाको छोरा पनि हो । उसले सानै उमेरमा शक्ति पाइहाल्यो । राजा र राजाका छोरालाई सन्की हुने वरदान नै मिलेको हुन्छ । यदि उ जनताको छोरा हुन्थ्यो भने त्यति सन्की हुँदैन थियो । हुन त यसको पनि ग्यारेन्टी छैन । राजाको छोरा जत्तिकै सन्की जनताका छोरा पनि धेरै भएका छन् ।

ऊ बढा गज्जबको मान्छे छ । उसलाई केही सोख छन् । ती मध्येको एउटा सोख हो मृत्युदण्ड दिने । जसले उसको कुरा काट्छ उसलाई मृत्युदण्ड दिने । जसले उसलाई सम्झाउन खोज्छ उसलाई मृत्युदण्ड दिने । मान्छे मात्र हैन जनावरलाई पनि । एउटा दृश्यमा गाइले उसले भनेको कुरा सुनेको जस्तो उसलाई लाग्दैन । ऊ गाइलाई पनि मार्ने आदेश दिन्छ ।

उसलाई मृत्युदण्ड दिन रमाइलो लाग्छ । साङ्केतिक रूपमा उसलाई आफू सही भइरहेको हेर्न मन पर्छ ।

ऊ यस्ता यस्ता काम गर्छ कि बाहिरबाट हेर्नेलाई हाँस उठ्छ । तर मृत्युदण्डको डरले कोही पनि बोल्दैनन् । ऊ आफ्नै ओलम्पिक गेम्स सुरु गर्छ । दौडको प्रतियोगितामा आफू पनि सहभागी हुन्छ । रेस सुरु हुनुभन्दाअघि पड्किने बन्दुक हुन्छ नि त्यो पनि आफैँ बोक्छ । अलिक पर आफू पुगेपछि बल्ल पड्काउँछ । उसको पछिपछि दौडिएका अरू खेलाडीलाई जित्ने गरी आइहाले भने गोली हान्छ । ऊ रेस टुङ्ग्याउँदैन । बरु रेस टुङ्गिएको भनेर जनाउने रिबन बोकेका मान्छे ऊतिरै आउँछन् ।

ऊ त्यसरी अनेक मेडल जित्छ । विश्व रेकर्ड नै राख्छ ।

उसले रकेट बनाउने प्रोजेक्ट सुरु गर्ने आदेश दिएको छ । रकेट अर्थात् विकास । अर्थात् शक्ति । सामर्थ्य । ऊ त्यसलाई अवलोकन गर्न जान्छ । देख्छ रकेटको टुप्पो त तिखो हुन्छ । उसलाई कताबाट हो त्यो तिखो मन पर्दैन । उसलाई मन नपरेपछि सकिगयो त । ऊ त्यसलाई मुठारिएको बनाउन आदेश दिन्छ । त्यहाँको चिफ वैज्ञानिक उसको छेउमा आउँछ र भन्छ, ‘महाराज यो त तिखो नै चाहिने हो ।’ रकेटलाई हावामा उड्नुपर्ने हुन्छ । तिखो भए हावा सजिलै कट्छ । रकेटको अनावश्यक इन्धन खर्च हुँदैन ।

तर राजालाई इन्धन खर्चको के मतलब । ऊ भन्छ ‘यसलाई मुठारिएको नै बनाऊ ।’

‘तर महाराज ।’ वैज्ञानिक उसले भनेको कुरा झुटो हो भनेर बुझाउने प्रयास गर्छ । वैज्ञानिकहरूको काम नै यही हो । विज्ञहरूको काम नै यही हो । सल्लाहकारहरूको काम नै यही हो । राजालाई सम्झाउने । गलत भइरहेको छ भने गलत भन्ने । कुनै लोकतान्त्रिक देशका संस्थाहरूको जस्तै । एक अर्काको नजिक चाहिनेभन्दा धेरै नजाने ।

उनीहरूलाई को राजा र को रैतीको के मतलब र ? उनीहरू स्वतन्त्र हुन् उनीहरूलाई कसैको पक्षमा बोलिदिनुपर्ने के जरुरी ?

तर राजालाई त्यसको के मतलब । ऊ ती सबै भन्दा माथि हो । उ गलत कसरी हुन्छ ? उ गलत कहिल्यै हुँदैन ।

ऊ आफ्नो ट्रेडमार्क स्टाइलमा घाँटी रेटेको जस्तो इशारा आफ्ना सहयोगीलाई गर्छ । उनीहरू तत्कालै वैज्ञानिकलाई उठाउन गइहाल्छन् ।

उनीहरूलाई वैज्ञानिकले के भन्न खोजेको हो । बा सही पो भन्न खोजेको हो कि भन्ने कुराको के मतलब ?

त्यसपछि न रकेट बन्छ । न अलादिनलाई रकेट नै चाहिन्छ ।

सन्की राजालाई एकपल्ट यस्तो गर्छु भनेर सुरु गरिदिएको काम त्यस्सै छोडिदिएको पनि सुहाउँछ ।

अलादिनलाई अचम्म अचम्मको सोख हुन्छ । उसले वादियाको धेरै शब्दहरूलाई आफूले चाहेअनुसार परिवर्तन गर्छ र ‘अलादिन’ नै बनाउँछ । त्यसमा सकारात्मक र नकारात्मक दुवै अर्थ दिने शब्दलाई उ अलादिन नै बनाउँछ । मान्छेहरूमा व्यापक कन्फ्युजन हुन्छ । कुन अलादिन कुन हो ? कुन साँचो कुन झुटो हो ?

उ तानाशाहा हो । तानाशाहाहरूले यसरी नै साँचो र झुटोको खेललाई आफूमा केन्द्रित गर्छन् । उसले शब्दलाई त्यसरी नाम दिनुको पनि आफ्नै कारण होला । उसलाई जताततै आफू पुग्ने रहर होला । मान्छेको बोलीमा नै आफू पुगेपछि सक्किएन त ? मान्छेको सेन्टिमेन्टमा नै पसेपछि भएन त ?

अनि मुख्य कुरा त साँचो र झुटो थाहा नपाउने मान्छेहरूलाई शासन गर्न सजिलो हुन्छ ।

यस्तै यस्तै अनेक अनेक दृश्यहरू । हाँसेको हास्यै पार्ने दृश्य । यस्तो पनि काहीँ हुन्छ त लाग्ने दृश्य तर भइसकेपछि सोच्दा हाम्रोमा पुरै नभए पनि केही व्यवहार त मिल्दोजुल्दो भइरहेकै छन् नि भनेजस्तो लाग्ने जस्ता दृश्य ।

ऊ त्यसपछि अमेरिका जान्छ । त्यहाँ गएपछि उसको ताज खोसिन्छ । उसको जुँगा काटिन्छ । उसको लुगा खोसिन्छ । उसको ठाउँमा षड्यन्त्र गरेर उ जस्तै देखिने अर्को मान्छेलाई अलादिन बनाइन्छ । उ हेर्दाहेर्दै सडकमा पुग्छ । उसले बल्ल सडकबाट हेर्न थाल्छ । उ आफू बसेको ठाउँमा अर्को बसेपछि बल्ल हेर्न थाल्छ ।

उसलाई बल्ल अन्याय भएको थाहा हुन थाल्छ ।

अनि सबैभन्दा मुख्य कुरा त उ दाह्री र राजाको लुगा फालिसक्दा आफू कसैले नचिन्ने मान्छे रहेछु भन्ने थाहा हुन थाल्छ । तर उसमा भएको राजाको धङधङी गइसकेको चाहिँ हुँदैन । तर त्यो धङधङीलाई देखाउने उचित ठाउँ उसले पाउँदैन । उसको वरपर उसले भनेको मान्छे कोही हुँदैनन् । उसको अगाडि उसले मृत्युदण्ड दिनसक्ने कोही हुँदैनन् ।

ऊ आफ्नो राज्य फिर्ता गराउने प्रयास कसरी गर्न सकिन्छ भनेर खोज्न थाल्छ । त्यसैक्रममा उसले पहिला मृत्युदण्ड दिएको रकेट सेन्टरको वैज्ञानिकलाई उ देख्छ । उसलाई पछ्याउँछ । उ त एउटा रेस्टुरेन्टमा पुग्छ । त्यहाँ त वादियाको राजा अलादिनप्रति घृणा दर्साइएका अनेक फोटो तथा कार्टुनहरू राखिएका हुन्छन् । उसले पहिलोपल्ट आफूलाई मन नपराउने मान्छे भेट्छ । आफूप्रति रुष्ट भएका मान्छे भेट्छ ।

र पनि केही गर्न सक्दैन ।

अनि छक्क पर्छ । ती सबै मान्छे ती नै हुन्छन् जसलाई उसले कुनै बेला मृत्युदण्ड दिएको थियो । ती कुनै पनि मरेका हुँदैनन् । उसले मृत्युदण्ड दिनु भनेको आदेश कसैले मानेका हुँदैनन् । निरंकुशहरूलाई यही समस्या हुन्छ । उनीहरू यति धेरै अरूलाई पत्याउन छोडिसकेका हुन्छन् कि उनीहरूको वरपर धेरै मान्छे नै हुँदैनन् । ती थोरै मान्छेलाई देश कसरी चलाउने भन्ने थाहा नै हुँदैन । जति साँघुरो घेरो उत्ति नै समस्या । तर निरङ्कुश भएकाहरू यति धेरै एकोहोरो हेर्न थाल्छन् कि उनीहरूलाई आफ्नो पछाडि के भइरहेको छ भन्ने पनि थाहा नै हुँदैन ।

र पनि अरूलाई नसुन्ने प्रतिस्पर्धा जारी छ । आफ्नो तर्कलाई मात्र साँचो भन्ने । आफूले गरेको कुरालाई नराम्रो मान्छे सबैलाई शत्रु देख्ने क्रम जारी नै छ । ठ्याक्कै अलादिन जति नै त छैनन् तर हाम्रोतिरका राजाहरूमा पनि उनको केही केही बानी सर्दैछन् । हाम्रा नव डिक्टेटरहरू बिस्तारै बलियो हुँदै छन् । तिनले बिस्तारै आफूलाई स्थापित गर्न खोज्दैछन् । अरूलाई विश्वास गर्न छोड्दैछन् । अरूलाई विश्वास गर्न छोड्ने शासक निरंकुश बन्न समयय लाग्दैन ।

हाम्रा नव शासकहरूले नयाँ नयाँ रकेट देखाएका छन् । मान्छेहरू हौसिएर त्यसैको पछि कुदिरहेका छन् । तर तिनले त्यो रकेट मुठारिएको बनाइरहेको उनीहरूलाई थाहा छैन । मुठारिएको अर्थात् कुनै एउटा वर्गलाई मात्र फाइदा पुग्ने विकास । मुठारिएको अर्थात् अर्को व्यवस्था नगरी श्रमजीवी वर्गको नामोनिशान मेटाउने विकास । मुठारिएको अर्थात् अपराधीलाई आममाफी दिने संस्कारको विकास ।

तिनले फरक मत राख्नेलाई मुख थुनेर साङ्केतिक रूपमा मृत्युदण्ड दिइरहेका छन् । तिनले फरक मत राख्ने संस्थाहरूले भनेको मान्दिनँ भनेर अवहेलना गरिरहेका छन् । तिनले  सामाजिक सञ्जाललाई मिडिया बनाएका छन् जहाँ समाचार भन्दा धेरै गलत समाचार डुल्छन् । तिनले अदालतलाई कमेन्ट बक्समा छोडिदिएका छन् जहाँ तर्क र कानून भन्दा धेरै भावुकता, उग्रराष्ट्रबाद र आक्रोश बिक्छ ।

यी मुठारिएको विकास गर्ने भनेर यति धेरै रफ्तारमा छन् । त्यो विकासले काम गर्छ भनेर ती यति धेरै विश्वस्त भइरहेका छन् ।

म ठिक यति बेला ‘द डिक्टेटर’ फिल्म सम्झिरहेको छु । फिल्म हेर्दा हाँसो उठेको जस्तै मलाई यिनको कति धेरै कुरामा हाँसो उठिरहेको छ ।

हाम्रा नयाँ डिक्टेटरहरूले केही समय पहिला भन्नेगरेको र अहिले भन्ने गरेको कुरामा कति धेरै अन्तर छ । यिनले गरेका कति धेरै कामहरू हचुवाको भरमा भएका छन् । यिनले सुरु गरेका कति कामहरू बिचैमा छुटेका छन् । यिनलाई पछ्याएका धेरै मान्छे अहिले छुट्दै गइरहेका छन् ।

यिनले अलादिनको जस्तो आफ्नो जुँगा र लुगा हराएर साधारण मान्छे बनेको दिन के गर्छन् ?

कुनै दिन आफ्नै समर्थकले चिन्न छोडेको दिन यी के गर्छन् ?

अलादिनले भाषा बिगारेको जस्तो यिनले जुन भाष्य बिगारेका छन् भोली कुनै दिन त्यो भाष्य उनीहरूतिर नै फर्किएको दिन यी के गर्छन् ?

हुन त भोली के हुन्छ भनेर सोच्ने काम डिक्टेटरको हैन । डिक्टेटरको काम त डिक्टेटर भइरहेको वा भर्खरै हुन सुरु गरेको आफूलाई जसरी पनि हुर्काउनु हो ।

कवि सुमन पोखरेलले गर्मी कविताको सुरुवातमा ‘गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ/मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाईकन तल नओर्लिने।’ भनेको जस्तै यहाँको डिक्टेटरहरूको पनि गर्मी ज्यादा नै छ ।

तर त्यो कविताको अन्त्य पनि छ । त्यसले अर्कै कुरा भनेको छ ।

सूर्य आफ्नो वर्चस्व देखाउन तल्लीन छ अझै
र एकोहोरो चढ्दो छ छ गर्मीको घमण्ड ।

यति हुँदाहुँदै पनि विश्वस्त छन् यहाँ बाँचिरहेका एकएक कणहरू
गर्मीलाई पछारेर अवश्य आउनेछ शीतलता भनेर ।

अनुभव साक्षी छ,
निर्मम शासन गरेर कोही यहाँ धेरैबेर टिक्न सक्दैन ।

 @SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *