मकालु रिभ्यु

यो फिल्म एटम बमको कथा मात्र हैन

यो फिल्म एटम बमको कथा मात्र हैन ।

एटम बम बनाउनेको कथा मात्र पनि हैन । 

अर्थात् अपनहाइमरको । जसले अल्बर्ट आइन्स्टाइनको सिद्धान्तको औँला समातेर शक्तिशाली एटम बम बनाए । यो फिल्मभर उनले कसरी त्यो बम बनाए अनि त्यसलाई बनाइसकेपछि के भयो जस्तो कुरा नै आएको छ । 

तर पनि यो उनको कथा मात्र हैन ।  

यहाँ उनको र बमको कथा भन्दै गर्दा धेरै कुरा भनिएको छ । उनले बम बनाएपछि उनलाई त्यसको भारी महशूस हुन्छ । त्यो बम यति शक्तिशाली छ कि त्यसले ल्याउन सक्ने सम्भावित असरहरूको उनलाई आङ्कलन हुन्छ । अनि त्यो असरको सम्भावित विश्व प्रतिस्पर्धाको पनि आङ्कलन हुन्छ । 

उनलाई थाहा हुन्छ त्यसले विश्व नै ध्वस्त पारिदिन सक्छ । 

तर त्यो कुरा उनलाई धेरै पछि थाहा हुन्छ । उनको हातबाट सबै थोक हराइसकेपछि थाहा हुन्छ । 

फिल्ममा एउटा दृश्य छ जहाँ उनीहरूले बमको ट्रायल गर्छन् । कोही नभएको मरुभूमिमा बम राख्छन् । बमको असर नपुग्ने ठाउँभन्दा पर बसेर हेर्छन् । त्यो बम बनाउन तीन वर्ष लागेको थियो । एउटा अनकन्टार ठाउँमा सानो बस्ती नै बसेको थियो । उनीहरूलाई त्यो पड्किन्छ कि पड्किँदैन भन्ने पनि डर थियो । 

बम पड्किन्छ । यस्तरी पड्किन्छ । उनी त्यहाँबाट उठेको आगोको लप्का देख्छन् । त्यो लप्का भयानक बादल हुँदै आकाशतिर उड्छ । त्यसको छाल वरपरका सबै थोक बटुल्दै उनीहरूतिर आउँछ । मरुभूमिको माटोले बम पड्किएको हेर्न बसेकाहरूलाई छोप्छ । 

उनी लप्कालाई नजिकैबाट हेरिबस्छन् । त्यो पल्का आकाशतिर उड्न थाल्छ । लगभग ताराहरूजस्तो बन्न थाल्छ । आगोकै तारामण्डल । 

त्यतिन्जेल कुनै साउन्ड आइरहेको हुँदैन । तर त्यो हेर्दै गर्दा हामीलाई बमको भयानक असर थाहा हुन्छ । जब त्यसको साउन्ड सुनिन्छ कान नै फुट्लाजस्तो गर्छ । 

त्यो बम भयानक पड्किनेछ भन्ने उनलाई थाहा थियो । तर त्यति र त्यसरी पड्किनेछ भन्ने थाहा थिएन । 

अर्थात् हामीलाई हामीले गरेको कुनै कामको परिणाम कत्रो हुन्छ भन्ने थाहा हुन्छ । तर त्यो खासमा कत्रो हुन्छ भन्ने थाहा हुँदैन । 

उनलाई त्यसबेला बम पड्किएर मिसन सफल भएकोमा खुसी लाग्छ । तर बम पड्किएर अर्को मिसन सुरु भएको सोचेर दुख लाग्छ । उनको आँखामा त्यो कुरा देखिन्छ । 

त्यसपछि उनलाई आणबिम बमले भविष्यमा ल्याउने जोखिमको चिन्ता हुन्छ । तर त्यतिन्जेल उनको हातबाट त्यो कुरा गइसकेको हुन्छ । 

त्यसपछिको दृश्यमा हिरोसिमा र नागासाकीमा लैजान दुई एटम बम गाडीमा हालिएको छ । गाडीको क्यारियरको ढोका लगाउँदै गरेको मान्छेलाई उनी जतन गर्न भन्छन् । 

उ भन्छ ‘अब यहाँबाट हामी हेर्छौँ ।’

अर्थात् आफूले सुरु गरेको कुनै भयानक चिज केही समयपछि आफ्नो नियन्त्रणमा हुँदैन । त्यसलाई रोक्ने हो भने आफ्नो नियन्त्रणमा हुने बेलासम्ममा नै रोक्नुपर्छ । 

यो कुरालाई फेरी पनि एक बिम्बको रूपमा हेर्न मिल्ने ठाउँ छ । धेरैतिर युद्ध सुरु गर्नेहरू छन् । त्यो युद्ध केही समयमा उनीहरूको हातभन्दा बाहिर गएको छ । धेरैतिर दङ्गाहरू भएका छन् । ती दङ्गा पनि केही समयमा नै सुरु गर्नेको नियन्त्रणबाट भागिगएका छन् । 

त्यसलाई सुरु गर्नेलाई लाग्छ यो मेरो उपलब्धि हो । तर त्यो उपलब्धि सबैभन्दा ठुलो बोझ बन्न कति पनि समय लाग्दैन । 

ठ्याक्कै त्यस्तै अपनहाइमरलाई पनि भएको छ । बम पड्किसकेपछि उनी एक युनिभर्सिटीमा बोल्न गएको दृश्य छ । उनी त्यहाँ पुग्दा सबैले ताली बजाएर स्वागत गर्छन् । त्यसबेला उनको स्वागत कुनै परेडमा भर्खरै युद्ध जितेको सिपाहीलाई स्वागत गर्दा गरिएको जस्तो छ । उनी बोल्न थाल्छन् । पहिलो वाक्यमा बम बनाएकोमा गर्व पोख्छन् । भन्छन् ‘यो कुरा अरूलाई कस्तो लाग्यो थाहा छैन, तर जापनिजहरूलाई भने पक्का पनि मनपरेन ।’

तर बोल्दै जाँदा उनी अगाडी बसेका मान्छेहरूलाई हिरोसिमा र नागासाकीमा भएका जनता देख्न थाल्छन् । एटम बम पड्किँदाको आँखै टिप्ने उज्यालोले छपक्कै छोप्छ । मान्छेहरू जलेर पग्लिन थाल्छन् । केही समय अगाडिको ताली चिच्याहटमा बदलिन्छ ।  

अनि भयानक आवाज आउँछ । ठ्याक्कै टेस्ट गरेको बेला उनीहरूले पड्काएको बमको आवाज जस्तै । 

उनी त्यहाँबाट निस्किन लाग्दा जलेर ठुट्टै भइसकेको लाशको पेटमा टेक्छन् ।

यो सबै कुरा फेरी पनि उनको मात्र हैन । वा अणुबमको मात्र हैन । 

यो मानवीय गुणको हो । त्यो गुण जो हरेक अर्थमा अरूभन्दा शक्तिशाली बन्न चाहन्छ । त्यो गुण जो सबैलाई पाठ सिकाउन चाहन्छ । त्यो गुण जो आफ्नो कामको असर कति हुन्छ थाहा नपाई काम गर्न चाहन्छ । 

त्यो गुण जो धेरै माछा मार्ने लोभमा आफूले खुट्टा भिजाइरहेकै बेला खोलामा करेन्ट हान्न चाहन्छ । 

त्यसरी माछा त मर्छ । सँगै भुरा पनि मर्छ । 

त्यसरी भुरा त मर्छ सँगै उसले चोबिरहेको खुट्टा पनि मर्छ । 

खुट्टा त मर्छ सँगै उसको जिउ पनि मर्छ । 

अहिले सामाजिक सञ्जालमा बेलाबेला एटम बम झरिरहन्छ । त्यसले कहिले कसलाई कहिले कसलाई आक्रमण गरिरहन्छ । त्यसले कसैको बारेमा आलोचनात्मक दृष्टिले हेर्न दिँदैन । कसैले गरेको नयाँ कार्यलाई सहँदैन । कसैले पोखेको आफ्नो कमजोरी स्विकार्दैन । 

त्यसले एउटा कुरा मात्र देख्छ । उ जसको भक्त हो त्यसको गुणगान मात्र देख्छ । अनि उसलाई गलत भन्ने सबैलाई उसको शत्रु मात्र देख्छ । उ आलोचनात्मक चेतलाई डर देख्छ । शान्तिपूर्ण आन्दोलनलाई ‘कुरूप’ देख्छ । नागरिक आन्दोलनलाई कसैको साजिस देख्छ । उसको बारेमा आलोचना गर्ने बौद्धिकको सर्टिफिकेटमा समस्या देख्छ । 

समग्रमा उ सरकारमा हुँदा होस् वा सरकार बाहिर आफ्नो बाहेक अरूको हरेक कुरा गलत देख्छ । 

उसले पनि एटम बम नै बनाइरहेको छ । उसले एटम बम नै खसाल्छु भन्ने सोचेको छ । 

तर उसलाई थाहा छैन उसको नियति पनि अपनहाइमरको जस्तै हो । उसले बम त पड्काउँछ तर त्यसले उठाउने आगोको लप्कालाई रोक्न सक्दैन । उसले बम त पड्काउँछ तर त्यसले बढार्ने ढुङ्गा र माटोको टुक्रालाई छेक्न सक्दैन । उसले बम त खसाल्छ तर त्यसले पार्न सक्ने खाल्डोलाई पुर्न सक्दैन । 

उ आफैँले बनाएको राक्षसलाई सन्तुलनमा राख्न सक्दैन । 

यो फिल्ममा एउटा दृश्य छ । अपनहाइमर तत्कालीन अमेरिकी राष्ट्रपतिलाई भेट्न गएका छन् । उनलाई त्यति बेलासम्म बम बनाउँदाको बोझले थिचिसकेको छ । उनी एटम बमलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय हस्तक्षेप खोजिरहेका छन् । उनी चाहन्छन् उनले बनाएको बमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु नगरोस् । एटम बमले हाइड्रोजन बम सम्मको यात्रा नगरोस् । 

तर अमेरिकी राष्ट्रपतिलाई त्यसको कुनै मतलब छैन । उनी बम पड्किएकोमा खुसी छन् । युद्ध रोकिएकोमा खुसी छन् । त्यो कस्तो खुसी हो ? 

अपनहाइमर भन्छन् ‘म मेरो हातमा रगत देखिरहेको छु ।’

ओहो उनी त्यहाँ सेक्सपियरको चर्चित नाटकका पात्र ‘म्याकबेथ’ भइहाल्छन् । म्याकबेथले पनि शक्तिको लोभमा आफ्नो राजालाई मारेको थियो । उसले पटक पटक भनेको थियो ‘म मेरो हातमा रगत देखिरहेको छु । जति धुँदा पनि यो गइरहेको छैन ।’

यो दृश्यमा अपनहाइमरले चाहेका थिए राष्ट्रपतिले केही भनुन् । त्यो प्रतिस्पर्धा रोक्ने कुनै बाचा गरुन् । तर उनी आफ्नो कोटको माथिल्लो खल्तीमा हात हाल्छन् । त्यहाँ भएको सानो रुमाल निकाल्छन् । अनि उनको हाततिर थमाउँछन् । 

उनले दिएको त्यो रुमालले अपनहाइमरको हात पुछ्न सक्दैन । यो कुरा एक राजनीतिज्ञलाई थाहा नहुने कुरै भएन । 

तर पनि स्वार्थको राजनीतिले भरिएका उनी अपनहाइमरलाई कुनै डरपोक बच्चा जस्तो बनाइदिन्छन् । 

अर्थात् जसले तपाईँको शक्तिलाई चलाउँछ उसले आवश्यक पर्दा हात समाइदिन्छ । आवश्यक पर्दा छोडी पनि दिन्छ । 

उ त्यो कामको बोझ तपाईँको काँधमा थमाइदिन्छ अनि आफू मज्जाले शक्तिको मजा लिन्छ । 

धेरै युद्धहरू पनि यस्तो भएको देखिएको छ । धेरै घटनाहरूपछि यस्तो भएको देखिएको छ । मान्छेलाई पटक पटक यसरी नै प्रयोग गरेर फ्याँकिएको छ । 

फिल्मले सोधेको छ, 

के अब पनि आफूलाई उस्तै गरी प्रयोग हुन दिइरहने हो ?  

के अब पनि आफूले गरेको कामको परिणाम मै पश्चात्ताप गरिरहने हो ? 

कि पश्चात्ताप हुने काम गर्नुअघि नै सोच्ने हो ? 

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

One thought on “यो फिल्म एटम बमको कथा मात्र हैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *