देश अझै अस्थिरतातर्फ जाने संकेत देखिएको छ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन् ।

राम नवमीको अवसरमा बिहीबार काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिर दर्शनका पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताए । उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।

उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए । अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको बताए । उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए ।

‘हामी सरकारमा हुनु वा नहुनु तपशिलको कुरा हो,’ उनले भने, ‘तर देशमा शान्ति, स्थायित्वको लागि सरकारस्थिर हुन जरुरी छ । तर अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु झनै तिब्र रुपले बढीरहेका छन् । त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन ।’

देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएकाे छ । सबै एकजुट भएर हामीले शान्ति, स्थिरता र विकासलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्छ । विगतमा सरकारले रामनवमीमा दिइरहेको बिदा कटौती गरेको थियो । हामी सरकारमा थोरै समय रहेपनि आगामी वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८० को सार्वजनिक बिदामा रामनवमी पनि परेको छ । केही वर्षदेखि सरकार धार्मिक संस्थानको संरक्षणमाभन्दा जिम्मेवारीबाट भाग्न खोजेको छ यो सह्य छैन । उच्च प्राथकिताका साथ सरकारले यसको जिममेवारी लिनुपर्छ ।’

अध्यक्ष लिङ्देनले आफू सरकारमा रहँदा वि.सं. २०८० सालबाट रामनवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *