राष्ट्रपति रामचन्द्र

बिपीको संगतले १६ वर्षमा राजनीति प्रवेश, ७८ वर्षमा राष्ट्रपति

प्रधानमन्त्रीमा १७ पटक हार, १८ औँ प्रयासमा राष्ट्रपति

काठमाडौँ । देशले तेस्रो राष्ट्रपति पाएको छ । कांग्रेस, माओवादीसहित ९ दलको समर्थनमा राष्ट्रपति उम्मेदवार बनेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल १० दलकाे भाेट पाएर राष्ट्रपतिमा विजयी भएका छन् ।

उनी ३३ हजार ८ सय २ मतभारका साथ राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलका प्रतिस्पर्धी नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका छन् । बिहीबार बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा भएको मतदानमा देशभरबाट प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले मत दिए ।

निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० मतदाता थिए । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको थियो ।

१३ फागुनमा राष्ट्रपतिमा पाैडेलले उम्मेदवारी दर्ता गरेका थिए । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका थिए । समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे थिए ।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । पछि उनलाई नेपाल समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसमेत गरी १० दलले भाेट दिएका छन् ।

याे पनि पराजयदेखि नडगमगाएका पौडेल

यसअघि पटक पटक कांग्रेस सरकारमा पुग्दा पनि सभापति शेरबहादुर देउवाले पौडेललाई अवसर नदिएको भन्दै पाैडेल पक्षका नेताहरूले कांग्रेसमा आवाज उठाउने गरेका थिए । तर यो पटक भने देउवाले अवसर दिए ।

यसअघि १८ फागुनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफूमाथि लागेको आरोप हटेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताएका थिए ।

उनले भनेका थिए, ‘रामचन्द्रजीलाई मैले कुनै भूमिका नदिएकाे भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौँ’, विगतको स्मरण गर्दै देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिलेदेखिको मेरो साथी हो ।’

पौडेलले पनि आफू राष्ट्रपतिको उम्मेदवार बनाएर ९ दलीय गठबन्धनले न्याय गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उम्मेदवारी दिएपछि आफूलाई अधिकांश सांसदको मत प्राप्त हुने बताउँदै आएका उनले आज बिहान पनि राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भनेका थिए ‘म अहिले राष्ट्रिय सहमतिकाे उम्मेदवार जस्तै बनेको छु । अलिकति थोरै प्राविधिक कारणले पूर्ण राष्ट्रिय सहमति बन्न सकेन । म संख्यामा जान्न ।’

संविधानको धारा ६३ ले राष्ट्रपतिको पदावधि पाँच वर्ष तोकेको छ । उनको कार्यकाल अब पाँच वर्षको हुने छ । २०७२ साल कात्तीक ११ गते राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीकाे पहिलाे पहिलो झण्डै २ वर्ष ४ महिनाकाे रहेकाे थियाे । नयाँ संविधान जारी भएपछि नेपालमा भएकाे पहिलाे निर्वाचनपछि भने उनले पूर्ण ५ वर्ष नै राष्ट्रपति बनेर कार्यकाल पूरा गरिन् । २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा भण्डारी निर्वाचित भएकी थिइन् । उनको पदावधि यही फागुन २८ गते सकिँदै छ ।  उनी पहिलो कार्यकालमा एमालेको तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । दोस्रो कार्यकालमा भने दुई तिहाइको नेकपाको साथ उनलाई थियो । २०६५ असार २९ गते नेपाली जनताको तर्फबाट डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति निर्वाचित भएका थिए । उनको कार्यकाल २०७२ कार्तिक ११ गते समापन भएको थियो । यादवलाई नेपाली कांग्रेस पार्टीले राष्ट्रपतिकाे उम्मेदवार बनाएकाे थियाे ।

याे पनि संविधानले खोजेको राष्ट्रपति कस्तो ?

यस्तो छ पौडेलको राजनीतिक जीवन

त्रिभुवन विश्वविद्यालयबाट नेपाली वियमामा स्नातकोत्तर गरेका पौडेलले संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् । उनका श्रीमती सविता पौडेल र पाँच सन्तान छन् ।

०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरेका पौडेल विसं २००१ साल असोजमा तनहुँको रित्ती गाविसस्थित बाहुन पोखरामा जन्मिएका हुन् । आमनिर्वाचनमा ६ पटक तनहुँबाट प्रतिनिधि सभामा निर्वाचित भएका पौडेलले २०१९ देखि २०४६ सम्म विभिन्न वर्षहरूमा १५ वर्ष जेल जीवन बिताएको इतिहास छ ।

बिपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि त्यति बेला १६ वर्षका युवा राजनीतिमा छिरेका थिए । बिपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गर्ने मैका पाएका पौडेलले त्यसपछि निरन्तर काँग्रेस पार्टीको विभिन्न भूमिकामा रहेर काम गरेका थिए । सुशील कोइरालाको मृत्यु भए पनि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका बनेका पौडेल त्यसअघि र त्यसयताको कांग्रेस महाधिवेशनमा कहिले पनि सभापति बन्न पाएका छैनन् ।

विगतदेखि वर्तमानसम्म कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिकामा रमाउँदै आएका उनले उनी पटक पटक मन्त्री भएर सरकारमा गए, पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । तर, सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न भने अहिलेसम्म चुकेको चुकै थिए । वर्तमान पार्टी सभापतिको हस्तक्षेप र आफ्नै पार्टीमा गुट चलाउन नसक्नुले उनी जिम्मेवार पदमा आसीन हुने अवसरबाट वञ्चित भएका थिए ।

उनी ०१८ को सशस्त्र क्रान्तिमा सहभागी थिए । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनमा एक अभियन्ताका रूपमा काम गरेका पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति भएका थिए ।

०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव बने । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनमा संस्थापक केन्द्रीय सदस्य बने ।  त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा काम गर्दै आएका छन् ।

हाल उनी नेपाली काँग्रेस पार्टीको वरिष्ठ नेताका रूपमा रही आएका छन् । ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट सांसदमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाले ।

०६२ सालमा कांग्रेस महामन्त्री भएका पाैडेल ०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री समेत भएका थिए । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौँ  पटक निर्वाचित छ । २०७४ काे संसदीय निर्वाचनमा पराजित पाैडेल २०७९ मा तनहुँ १ बाट सांसद निर्वाचित भएका थिए । पौडेलले राष्ट्रपति बनेपछि अब उनकाे सांसद पद रिक्त भएकाे छ । उक्त क्षेत्रमा अब उपनिर्वाचन हुने भएकाे छ ।

तस्बिरहरु : सरोज बस्नेत/मकालुखबर
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *