सरकार र व्यवसायीहरूले समस्या समाधानमा हातेमालो गरेर अघि बढ्नपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिन जरुरी रहेको बताएका छन् ।

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । उनले साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरूले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले प्राकृतिक स्रोतको उपयोग समावेशी र समानुपातिक सहभागितामा मात्रै नभएर परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नेसमेत सघाउ पुर्याउने बताए । उनले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगार सिर्जना गरेकाले यसको प्रवर्द्धनमा विशेष कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । राष्ट्रपति पौडेलले महिला युवा र उद्यमीका लागि सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाउनुपर्ने खाँचो रहेको धारणा राखे । उनले स्वदेशी वस्तु बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तुबिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई महत्व दिनुपर्ने आजको आवश्यकता भएको बताए ।

उनले भने ‘हाम्रो जस्तो मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिन जरुरी छ । गरिबी न्यूनीकरण,रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रको विद्यमान पुँजी,कच्चा पदार्थ,प्रतिस्पर्धात्मक क्षमता,बजारीकरण र दक्षजनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरूले हातेमालो गरेर अघि बढ्नपर्छ ।

उनले पुँजी पहुँचमा अहिले पनि घरेलु तथा साना उद्योगी मारमा परेको भन्दै सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यस क्षेत्रको विकासमा सहयोग पुराउनुपर्नेमा जोड दिए । उनले देशमा उत्पादित वस्तुको प्रवर्द्धन गरी उद्योगहरूको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाको लागि आवश्यक संरचना बनाउन सरकारको ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *