पराजयदेखि नडगमगाएका पौडेल

१६ वर्षदेखि राजनीतिमा छिरेका थिए रामचन्द्र

काठमाडौँ । सरकार सञ्चालनको हिसाबले हेर्ने हो भने नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापना तथा गणतन्त्र स्थापनापछिका अधिकांश समय नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको छ । तर, लामो समय नेपाली कांग्रेस सत्तामा रहँदा पनि कांग्रेस नेता रामचन्द्र पौडेलले कार्यकारी सर्वोच्च पद प्रधानमन्त्री पाउन सकेनन् । मन्त्री र उपप्रधानमन्त्री पनि उनी धेरै पटक र लामो समय भएका छैनन् । यसरी देशको सर्वोच्च जिम्मेवारी पाउन नसकेका पौडेलले यस पटक भने देशको सर्वोच्च सेरेमोनियल पद राष्ट्रपतिको उम्मेद्वार बन्ने अवसर पाएका छन् । कांग्रेसले पौडेललाई राष्ट्रपतिमा अघि सारेको हो ।

नेपाली कांग्रेससहित ८ दलको साझा उम्मेदवारको रूपमा उनले उम्मेदवारी मनोनयन दर्ता गरेका छ । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । उनको मतभार पनि नेकपा एमालेका सुवासचन्द्र नेम्बाङको भन्दा बढी हुने निश्चित जस्तै देखिएको छ । यो मानेमा २५ फागुनसम्ममा कुनै चामत्कारिक परिवर्तन नभए उनी नेपालको तेस्रो राष्ट्रपति बन्ने सम्भावना बढी छ ।

२६ पुसमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिएकै दिन कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अगाडि सार्ने र माओवादी लगायतका दलले भोट दिने सहमति भएको थियो । उक्त सहमतिबारे त्यसैदिनको समाचारमा मकालुखबरले उल्लेखसमेत गरको थियो । रामचन्द्रलाई राष्ट्रपति बनाउने आशमा प्रचण्डलाई कांग्रेसको समर्थन ! मकालुखबरलाई प्राप्त सूचना अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने कुरामा भित्री सहमति भएर नै प्रचण्डलाई भोट हाल्न कांग्रेस राजी भएका थिए ।

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् । समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसापा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ । २६ फागुनको दिनले रामचन्द्रलाई नेपालको नयाँ राष्ट्रपतिको रुपमा आगामी ५ वर्षका लागि स्थापित गराउने निश्चित जस्तै देखिएको छ।

पौडेल तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका छन् । पौडेलले राष्ट्रपति पाउने भएपछि सो क्षेत्रमा उप–निर्वाचन हुने छ । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका पौडेलले संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् । उनका श्रीमती सविता पौडेल र पाँच सन्तान छन् ।

यस्तो छ पौडेलको राजनीतिक जीवन

०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरेका पौडेल विसं २००१ साल असोजमा तनहुँको रित्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका हुन् । आमनिर्वाचनमा ६ पटक तनहुँबाट प्रतिनिधि सभामा निर्वाचित भएका पौडेलले २०१९ देखि २०४६ सम्म विभिन्न वर्षहरूमा १३ वर्ष जेल जीवन बिताएको इतिहास छ । बिपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि त्यतिबेला १६ वर्षका युवा राजनीतिमा छिरेका थिए । बिपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गर्ने मैका पाएका पौडेलले त्यसपछि निरन्तर कांग्रेस पार्टीको विभिन्न भूमिकामा रहेर काम गरेका थिए ।

सुशील कोइरालाको मृत्यु भए पनि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका बनेका पौडेल त्यसअघि र त्यसयताको कांग्रेस महाधिवेशनमा कहिले पनि सभापति बन्न पाएका छैनन् ।

विगतदेखि वर्तमानसम्म कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिकामा रमाउँदै आएका उनले उनी पटक पटक मन्त्री भएर सरकारमा गए, पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । तर, सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न भने अहिलेसम्म चुकेको चुकै थिए । वर्तमान पार्टी सभापतिको हस्तक्षेप र आफ्नै पार्टीमा गुट चलाउन नसक्नुले उनी जिम्मेवार पदमा आसिन हुने अवसरबाट वञ्चित भएका थिए ।

उनी ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता, ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति, ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव, ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनमा संस्थापक केन्द्रीय सदस्य थिए । त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा काम गर्दै आएका छन् । हाल उनी नेपाली कांग्रेस पार्टीको वरिष्ठ नेताका रूपमा रही आएका छन् ।

०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भएका थिए ।

यस्तै उनी ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री समेत भएका थिए । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए ।

प्रधानमन्त्रीमा १७ पटक पराजयको इतिहास पनि उनले बोकेका छन् । उनी यतिपटक पार्टीबाट पराजय भोग्दा पनि पार्टीबाट कहिले हार नखाएका नेतामा पर्छन् । आफ्नो पार्टीमा विभिन्न गुट र उपगुट जन्मिँदा पनि रामचन्द्रले आफ्नै गुट बनाउन समेत सकेनन् । यो कारण पनि उनी महत्त्वपूर्ण स्थानमा पुग्न सकेका थिएनन् । कांग्रेसको उपसभापति बनेका पौडेल सभापतिमा नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा देउवासँगै पराजित भएका थिए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा हुँदा लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ भने मतदान नै नगर्ने पक्षमा थिए । पौडेल संस्थापन इतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकाङ्क्षी थिए । तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घोषणा गरेका थिए ।

पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवालाई आफूलाई सहयोग गर्न वा अरूहरूको पक्षमा नखुल्न आग्रह गरेका थिए । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए । पछि देउवा सभापति भएपछि उनी पुन देउवासँग नजिकिएका थिए । मंसिर ४ को निर्वाचनमा देउवाले राष्ट्रपतिको जिम्मेवारी दिने वचन दिइसकेका थिए तर पौडेल भने तनहुँ १ बाट पुनः उठेका थिए । त्यसयता पनि देउवा र रामचन्द्रको सम्बन्ध भने राम्रो नै थियो । त्यो कारण पनि देउवाले रामचन्द्रको गुन तिर्न चाहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *