नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन: भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी नीतिगत स्पष्ट भएर मात्र समग्रतामा समयको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीले नीतिसँगै व्यवहारिक कार्यशैलीमा सुधार गर्न सकेमात्र बदलिँदो समयको नेतृत्व गर्नसक्ने कुराको प्रमाण आजको पार्टी भएको बताए । उनले मुलुक र नागरिकको समस्या समाधानमा पार्टीको नीति केन्द्रित हुनुपर्नेमा जोड दिँदै मुलुलको वर्तमान राजनीति अपेक्षाकृत ढंगले अघि बढ्न नसकेकोप्रति चिन्ता पनि व्यक्त गरे ।
उनले भने, ‘नेपाली काँग्रेस नीतिगत रुपमा स्पष्ट पार्टी हो, त्यसमा कुनै शंका छैन । हामी त्यही स्पष्ट नीति बोकेको पार्टीका कार्यकर्ता हौँ । हाम्रा सारथिहरु आदरणीय हुनुहुन्थ्यो । तर नीतिगत स्पष्टता बोकेको पार्टीले मात्रै समग्रतामा सम्पूर्ण समयको नेतृत्व गर्न नसक्दो रहेछ भन्ने कुराको प्रमाण आजको पार्टी पनि हो ।’
अगाडि उनले भने, त्यसैले नीतिगत स्पष्टता सँगसँगै व्यवहारमा देखिने गरी आफूलाई प्रस्तुत गराउन सक्ने पार्टी र नेतृत्व पनि हो । त्यस कारण हामीले समयको पदचापलाई बुझेर पार्टीलाई नीतिगत स्पष्टता दिएर मात्र होइन व्यवहारिक रुपमा थप स्पष्टता दिँदै कार्यकर्तालाई विश्वासको चाङमाथि उभ्याएर अगाडि बढाउन सक्ने क्षमता पनि हामीले बोक्न सक्नुपर्छ ।’
उनले वर्तमान राजनीति बाँचुञ्जेलसम्म ऋण काढेरै भएपनि घ्यू भातै खाउँ भन्ने तरिकाले चलिरहेको टिप्पणी गरे ।








