क्यानका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अर्को मुद्दा दायर गरेको छ ।

आयोगले अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । ठेक्का प्रक्रियामा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौँ रूपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले मुद्दा हालेको हो ।

आयोगले अधिकारीले पदीय दुरुपयोग गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको र उक्त रकमलाई जग्गा खरिदमा प्रयोग गरी शुद्धीकरण गरेको जिकिर गरेको छ । घुसबापत प्राप्त भएको उक्त अवैध रकम लुकाउन अधिकारीले ललितपुर महानगरपालिका-५ मा श्रीमतीको नाममा जग्गा खरिद गरेको भेटिएको छ ।

उनले ०-१३-०-० क्षेत्रफलको उक्त जग्गा खरिद गर्दा सरकारी लिखतमा जम्मा ९१ लाख रूपैयाँ मात्र मूल्य कायम गरी वास्तविक कारोबारको रकम लुकाएका थिए । बाँकी १ करोड ७१ लाख रूपैयाँ अवैध स्रोतबाट प्राप्त भएको र त्यसलाई वैध देखाउन सरकारी लिखत सच्याउने तथा बैङ्क खाताहरूबाट अस्वाभाविक कारोबार देखाउने कार्य गरी उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अख्तियारको ठहर छ ।

अधिकारीसँग दुवै मुद्दामा १ करोड ७१ लाख रूपैयाँ दरले बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरेको छ ।

यसैगरी, घुस दिने गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। उनलाई घुस दिएको र सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको अभियोगमा अधिकारीलाई सरह नै बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =