संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : रेखा शर्मा

काठमाडौँ । नेपाल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद्का (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी हुन् ।

उनले अहिले आफ्नो पार्टीको प्रधानमन्त्री भएका कारण आफूहरूले त्यस्तो नभएको प्रस्ट्याउँदै प्रधानमन्त्री पदलाई बलियो बनाउनुपर्नेमा जोड दिएकी हुन् । उनले विधेयक पनि परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनेगरी ल्याइएको बताइन् । उनले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै अध्यक्ष बिनाको निर्णय मनासिब नहुने धारणा राखिन् ।

उनले भनिन् – ‘निर्णयको कुरा जुन छ, प्रधानमन्त्री जो त्यो परिषद्को अध्यक्ष हुन्छ । प्रधानमन्त्रीले नमानीकन निर्णय गर्ने हो कि के गर्ने हो ? भन्नेमा, हाम्रो शासकीय स्वरूपका कारण, निर्वाचन प्रणालीका कारण र विविध कारणले सरकार अस्थिर छ । राजनीतिक अस्थिरता छ । एउटै सरकार लामो समय चल्न सकिराखेको छैन । प्रधानमन्त्री अहिले हाम्रो भएको हुनाले यो हुनुपर्छ भन्ने खालको कुरा होइन । प्रधानमन्त्री जोसुकै भए पनि जुनसुकै पार्टीको भए पनि प्रधानमन्त्रीलाई अथवा कार्यकारी नेतृत्वलाई बलियो बनाउने कुरा नै राम्रो कुरा हो भन्ने कुरा हो जस्तो लाग्छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ, त्यसकारण यो हुनुपर्छ भन्ने अर्थ नलागोस् । देशको प्रधानमन्त्री भनेको पद हो । त्यो पद बलियो हुनुपर्छ भन्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । त्यसकारणले त्यो विषयमा के गर्ने भन्ने गम्भीरतापूर्वक हामी आफूले पनि सोचौँ ।’

उनले विधेयकलाई समिति र संसदले सहमतिपूर्वक अगाडी बढाउन चाहेमा त्यसमा सरकार बाधक नबन्ने स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *