पत्रकार सम्मेलन

पार्टी विभाजन असंवैधानिक छ, हामी अदालत जान्छौँ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताएका छन् ।

पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताए । पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधवार ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाए ।

पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरूले अदालतमा गएर चुनौती दिने अध्यक्ष यादवको भनाई थियो । उनले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफवाह भएको बताए । अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत् रहेको र त्यो कसरी अगाडि बढ्छ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताए ।

उनले भने ‘गैरकानूनी तरिकाबाट, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । र, त्यो प्रमाण पत्र दिएको यहाँहरूले हेर्नु भएको छ । नेपालको इतिहासमा यति छिटो प्रमाण पत्र दर्ता गरेको पहिलो चोटि हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन, मुद्दामा फरक छैन । अव व्यक्तिगत महत्वकांक्षा भन्ने हो भने सांसद बनेका छन । मन्त्री बनेका छन । अव त्यहाँ भन्दा बढी बनाउने त हामीसँग क्षमता छैन । नितान्त व्यक्तिगत स्वार्थमा लागेर लोकतन्त्रलाई धरापमा पार्ने र जुन पहिचानको आन्दोलन चलिरहेको छ । ती मुद्दाहरूलाई धरापमा पार्ने, सङ्घीयतालाई धरापमा पार्ने गरी पार्टी विभाजन गर्यौं भन्ने छ । किन गर्यौं भन्दा कुनै तर्क छैन । पार्टी विभाजन गरिएको जुन घोषणा भयो । र, दर्ता गरे । त्यो असंवैधानिक छ । त्यसमा हामी कोर्टमा चुनौती दिन्छौँ लिगल ।

र, सरकारमा नै रहेका केही साथीहरूले, केही पार्टीका नेताहरूले चाहिँ त्यो भ्रमलाई जुन भ्रम फैल्याइएको थियो । कि जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदैछ । त्यो अत्यन्त कपोलकल्पित, बेसलेस कुनै आधार नभएका प्रायोजित ढंगले चलाइएको अफवाह थियो । त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि सरकारप्रति जसपाको अहिले निरन्तर समर्थन छ । हामीले समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । हाम्रो समर्थन यथावत् नै छ । र, यो रहन्छ । अव यसपछि परिस्थिति कसरी निर्भर रहन्छ ? त्यसमा भर पर्छ ?’

अध्यक्ष नेपालले अर्को सरकार बनाउने प्रयास आफूहरूले नगरेको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *