उपेन्द्र यादव भन्छन्– पार्टी विभाजन गर्ने साथीहरुलाई नपुगेको के थियो, भनेको भए मै दिन्थेँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सबैलाई चाहिँदो पद रहेको र अझै पनि अपुग भएको भए आफैंले दिने बताएका छन्।

पार्टी विभाजनपछिको पत्रकार सम्मेलनमा यादवले भने– ‘पार्टी विभाजन गर्ने कुनै आधार नै छैन, उनीहरुले कुनै कारण नै देखाउन सकेको छैन । कसलाई के पुगेको छैन मलाई भनेको भए त्यो पनि दिन्थे।’

अध्यक्ष यादवले भने, ‘पार्टी विभाजन गर्नेमध्ये एक जनालाई कार्यवाहक अध्यक्ष नै दिएर गएको थिएँ, एक जना मन्त्री नै हुनुहुन्छ, अरू सांसद नै हुनुहुन्छ, एक जना संसद्को सचेतक नै हुनुहुन्छ नपुगेको के थियो र ।’

उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले भने, ‘उहाँहरूले मागेको कुरा मैले दिन सकिन तर कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो उहाँले दिँदा वा लिँदा हुन्थ्यो नि, कसले रोकेको थियो, पार्टीको कुनै पनि बैठकमा यस्ता कुराहरू उठेन, कसैले उठाउनु पनि भएन ।’

‘पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद छैन, साङ्गठनिक मतभेद छैन, पद र जिम्मेवारी बाँडफाँटको मतभेद छैन, सरकारमा जाने आउने विषयमा मतभेद छैन भने पार्टी विभाजनको एउटै कारण हो व्यक्तिगत महत्त्वाकाङ्क्षा’, उनले भने।

आफू संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गराएको आरोप लगाए ।

केही व्यक्ति बरालिएको र उनीहरू गल्ती सुधार गरेर फर्के भने पार्टीमा स्वागत गर्न तयार रहेको पनि यादवले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *