रेशमको जुक्ती : टिकट साटेर सांसद बने, पार्टी कमजोर हुँदा मन्त्रीको अवसर पाए

पोखरा । रेशम जुग्जाली २०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा म्याग्दीस्थित मालिका गाउँपालिका अध्यक्षमा माओवादीबाट उम्मेदवार बने । गठबन्धन भए पनि मालिकामा छुट्टाछुट्टै उम्मेदवारी थियो । कांग्रेसले आफ्नै उम्मेदवार उठाएको थियो । एमालेका बेगप्रसाद गर्बुजा ३०९१ मत सहित निर्वाचित हुँदा झिनो मतान्तरले कांग्रेसका श्रीप्रसाद रोका पराजित भए । तेस्रो भएका जुग्जालीले २१२५ मत पाएका थिए ।

उनी २०७४ मा भने मालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् । पालिका अध्यक्षमा पराजित भएका जुग्जाली मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा म्याग्दी (ख) बाट विजयी भए । सत्ता गठबन्धनमा केन्द्रीय नेतृत्वले गरेको निर्णय उल्ट्याउँदै टिकट फुत्काउन सफल उनी झिनो अन्तरले विजयी भएका हुन् । केन्द्रले सुरुमा प्रतिनिधिसभामा माओवादीलाई टिकट दिएर प्रदेशका २ क्षेत्र कांग्रेसलाई दिएको थियो । स्थानीय स्तरबाट जुग्जालीले जुक्ति लगाए । उनले प्रतिनिधि सभामा कांग्रेसलाई उठाएर प्रदेशसभाका २ क्षेत्र माओवादीको भागमा पारे । म्याग्दीका तीनै सेट तत्कालीन गठबन्धनले जित्यो । जुग्जालीले जम्मा १ सय १ मत अन्तरले निकटतम प्रतिस्पर्धीलाई हराएका थिए । अन्ततः उनी सांसद मात्रै भएनन्, गण्डकीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने अवसर पाए । माओवादीले गण्डकीमा ५ सिट मात्रै प्रत्यक्ष तर्फ जितेको थियो । त्यसमा पनि एक सिट बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटा विजयी भएका हुन् । देवकोटालाई छोडेर प्रत्यक्षमा ४ र समानुपातिक ३ सिट माओवादीको छ । प्रत्यक्ष जितेका गोरखा १ (क) का कृष्ण धिताल सभामुख बनिसकेका छन् ।

तनहुँबाट जितेका हरि चुमान मन्त्री बनेका छन् । त्यसबाहेक म्याग्दीबाट २ सिट प्रत्यक्षमा चुनाव जितेको हो । प्रत्यक्षले नै मन्त्री बन्नुपर्ने दबाब पार्टीमा रह्यो भने गोरखाले सभामुख पाएपछि अर्को मन्त्री त्यहाँबाट हुन नहुने तर्क बढ्यो । त्यसैले सम्भावित मन्त्री सुशीला सिंखडा मन्त्रीबाट विमुख भइन् । अन्ततः म्याग्दी भाग्यमानी भयो । सुशीलाले प्रमुख सचेतकको जिम्मेवारी पाएकी छिन् । रेशम २०५८ सालदेखि माओवादी आन्दोलनमा लागेका हुन् । उनका दाजुको जनयुद्धकै क्रममा मृत्यु भएपछि उनी भूमिगत भएर पार्टीमा काम गरे । तत्कालीन समयमा माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कसिमार र बटालियन भाइस कमान्डर भएर काम गरे । पछि पार्टीको म्याग्दी सचिव हुँदै २०६६ मा तत्कालीन मगरात राज्य समिति सदस्य बने । पार्टी विभाजनपछि उनी मोहन वैद्य किरण समूहमा खुले । वडाध्यक्ष हुँदा उनी वैद्य समूहमा नै थिए । पछि माओवादी प्रवेश गरेर उनी सांसद हुँदै मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *