प्रधानमन्त्रीकाे ‘बार्गेनिङ्ग’का कारण सकस !

काठमाडाैँ । आसन्न संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गर्दै पाँचदलीय गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा) ले साउन २० गते ११ सदस्यीय कार्यदल बनाएकाे छ । कार्यदलले काम थालनी गरेकाे आज ठ्याक्कै १ महिना पुगेकाे छ । तर, ‘आउटपूट’ भने शून्य नै छ । कार्यदलले १ महिनाकाे अवधिमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कुन दलले कति सिट लिने भन्नेसमेत टुङ्ग्याउन सकेकाे छैन ।

१ महिनाकाे अवधिमा पनि सिट संख्या नै टुङ्ग्याउन नसक्नुमा कार्यदलकाे दाेष नरहेकाे कार्यदलका सदस्यहरू बताउँछन् । त्यसमा ठूला नेताहरूकाे राजनीतिक स्वार्थ जाेडिएकाे कारण सकस भएकाे कार्यदलका एक सदस्य बताउँछन् । चिढ्याउँदै ती सदस्यले मकालुखबरसँग भनेका छन्, ‘कार्यदलले त सकेकाे काम गरेकै हाे । त्यसमा माथिबाट टुङ्गाे नलागीकन हुने कुरै भएन । कार्यदलचाहिँ देखाउनेजस्ताे मात्रै देखिएकाे छ । काम हुने भनेकाे सबै माथिबाटै हाे । दलहरू र नेताहरूका आ-आफ्ना राजनीतिक स्वार्थका कारण काममा ढिलाइ भएकाे हाे ।’

खासगरी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भइरहेकाे प्रधानमन्त्रीकाे ‘बार्गेनिङ्ग’ का कारण सिट संख्या मिल्न नसकेकाे कार्यदलका सदस्यहरू बताउँछन् । बढी सिट लिँदा र जित्दा प्रधानमन्त्री हुन सजिलाे हुने स्वाभाविक प्रक्रियालाई मध्यनजर गर्दै देउवा-प्रचण्ड सक्दाे बढीभन्दा बढी सिट लिने दाउमा छन् । उसाे त अन्य तीन घटकहरू; एकीकृत समाजवादी, जनता समाजावदी राष्ट्रिय जनमाेर्चाले पनि बढी नै खाेज्ने भए । गत स्थानीय तह सदस्य निर्वाचनमा पनि कांग्रेस-माओवादी केन्द्र मात्रै मिलेकाे निष्कर्ष निकालेका अन्य घटकहरूले यसपटक बढी निहुँ खाेजे गठबन्धन छाड्ने चेतावनीसमेत दिइरहेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त गठबन्धनकाे बैठकहरूमा बाँडफाँट सकेर उब्रिएकाे सिट आफ्नाे पार्टीलाई दिन लागिएकाे भन्दै विराेध गर्दै आएका छन् । उनले पछिल्लाे एक कार्यक्रममा सार्वजनिकरूपमै पनि त्याेबारे बाेलेका छन् । उनले भन्ने गरेका छन्, ‘दामासाहीरूपमा सिटहरू बाँडफाँट हुनुपर्दछ । हामीले उब्रिएकाे सिट दिने भन्ने मान्य छैन ।’

यता जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि गठबन्धन छाड्ने चेतावनी दिएका छन् । २५ सिट दाबी गरेकाेमा कम्तीमा २२ सिटसम्म मिल्ने र यदि त्याे नभएर गठबन्धन छाडेर आफैँ निर्वाचनमा जाने उनले गठबन्धनकाे बैठकमै चेतावनी दिएका छन् । उनले पछिल्लाे गठबन्धनकाे बैठकमा भनेका थिए, ‘तपाईंहरूले मधेश प्रदेशमा जित्ने हाेइन । अहिले पनि हामीसँग १० सिट सुरक्षित छ । बढी मिलेर र यहाँबाट पनि पेल्न खाेजियाे भने बरु हामी आफैँ निर्वाचनमा जान्छाैँ ।’ अहिले प्रतिनिधि सभामा १ सिट भएकाे राष्ट्रिय जनमाेर्चाले २ सिट मागेकाे छ । त्यसमा अन्य दलहरू पनि सहमत भएकाे बुझिएकाे छ । मूल समस्या ४ दलहरूबीच नै देखिएकाे छ ।

काे प्रधानमन्त्री हुने भन्नेबारे देउवा-प्रचण्डबीच धेरैपटक ‘वान् अन् वान्’ वार्ता भइसकेकाे छ । तर, अझै गाँठाे भने नफुकेकाे नेताहरू बताउँछन् । यसअघि आइतबार मात्रै उनीहरूसँग लामाे वार्ता भएकाे थियाे । तर, त्यसमा पनि जुट्नुपर्ने सहमति भेटिएन । प्रधानमन्त्री आलाेपालाे बन्ने निश्चित भएपनि काे अगाडि बन्ने भन्नेबारे अहिलेकाे अड्काउ भएकाे माओवादी केन्द्रका एक नेताले बताएका छन् । ‘उहाँहरू आलाेपालाे प्रधानमन्त्री बन्नेमा कुनै शंका छैन । तर, निर्वाचनपछि गठन हुने सरकारकाे नेतृत्व कसले गर्ने भन्नेबारे मात्रै कुरा नमिलेकाे हाे । त्यसले अलिक समस्या भएकाे हाे,’ उनले मकालुखबरसँग भनेका छन् ।

देउवा गठबन्धनकाे सबैभन्दा ठूलाे दल कांग्रेस भएकाले पहिले सरकारकाे नेतृत्व उसैले गर्नुपर्ने अडानमा छन् भने प्रचण्ड अहिले पनि सरकारकाे नेतृत्व कांग्रेसले गरिरहेकाले निर्वाचनपछि माओवादी केन्द्रले गर्नुपर्नेमा छन् । ‘प्रधानमन्त्री आधा-आधा कार्यकाल हुने नै हाे । त्यसमा अहिले कांग्रेस भएपछि अब निर्वाचनपछि कांग्रेसबाहेक दल, त्यसमा पनि दाेस्राे ठूलाे दल माओवादी केन्द्रले गर्नुपर्छ भन्ने नै हाे । त्यसमा साढे दुई वर्षपछि फेरि कांग्रेसले कमाण्ड सम्हालछ,’ ती माओवादी केन्द्रका नेताले भनेका छन् । तर, देउवाले अहिलेसम्म यसलाई स्वीकारिसकेका छैनन् । उनी पनि निर्वाचनलगत्तै छैटाैँपटक प्रधानमन्त्रीमा बाजी मार्न चाहन्छन् । ती नेता थप्छन्, ‘तर, उहाँ (देउवा) याे स्वीकार्न तयार देखिनुभएकाे छैन ।’

पार्टी प्रवक्तासमेत रहेका नेता प्रकाशशरण महत ठूलाे हुनुकाे नाताले कांग्रेसले सबैभन्दा पहिले सरकारकाे नेतृत्व गर्ने बताउँछन् । ‘स्वाभाविकरूपमा नेपाली कांग्रेस सबैभन्दा ठूलाे दल हाे । गत स्थानीय निर्वाचनमा पनि त्याे देखिएकै हाे । अब यसलाई ध्यान दिँदै निर्वाचनपछि बन्ने सरकारकाे सुरुवाती नेतृत्व कांग्रेसले नै गर्छ र गर्न पाउनुपर्छ भन्ने छ । यसलाई अन्य घटकहरूले पनि मान्नुपर्छ । नभए पनि समझदारीमा एउटा सहमति बनाएर अगाडि जानुपर्छ ।’ उनी माओवादी केन्द्रलगायत अन्य दलहरूबीच गम्भीर छलफल गर्ने र अगाडि बढ्ने बताउँछन् । ‘कांग्रेसले गठबन्धनमा कुनै फट्याइँ गरेकाे छैन । अहिलेसम्म मिलेरै सरकार चलाइरहेका छाैँ । अब पनि मिलेरै चलाउने हाे । त्याे सबैले बुझ्नुपर्छ,’ उनले भनेका छन् ।

दलहरूबीच बढीभन्दा बढी सिट लिने प्रतिस्पर्धा चलेकाे छ । १६५ सिट भाग लगाउनुपर्ने उनीहरूले दाबी गरेकाे सिट संख्या २२७ पुगेकाे छ। कांग्रेसले १०० सिट नछाड्ने बताउँछ भने माओवादी केन्द्र ६० भन्दा तल नझर्नेमा छ । एकीकृत समाजवादीले ४० भन्दा कम सिट नलिने बताएकाे छ भने जनता समाजवादीले २५ सिट लिने बताएकाे छ भने जनमाेर्चाले २ सिट लिने बताएका छ । यी सबै दलहरूले मागेकाे सिट जाेड्दा २२७ सिट हुन्छ, जबकि कूल निर्वाचन क्षेत्र १६५ मात्रै हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *