सिट बाँडफाँट : एक महिने कसरतमा पनि फुकेन गाँठो

काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिट बाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरू ‘सकस’मा परेका छन् । मङ्सिर ४ गते निर्वाचन घोषणा गरेलगत्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका उनीहरुले तालमेलको मोडालिटी बनाउनका लागि कार्यदलनै बनाए । तर कार्यदलले झण्डै एक महिना कटाउँदा पनि सिट बाँडफाँट टुङ्ग्याउन सकेको छैन ।

सिटका लागि विभिन्न मोडालिटी तयार गरेको भएपनि त्यसलाई टुङ्गोमा पुर्‍याउन सकेका छैनन् । चाँडै सिट बाँडफाँट टुङ्गोमा पुर्‍याएर चुनावमा होमिनु पर्ने भएपनि कुरा मिल्न नसक्दा सत्ता गठबन्धन सकसमा परेको छ ।

गठबन्धन आबद्ध पाँचै दलले ४ मङ्सिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो भने बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको थियो । कार्यदलको दोस्रो बैठक २५ साउनमा बसेको थियो ।

योबीचमा कार्यदलले प्रधानमन्त्रीको सरकारी निवासमा पटकपटक बैठक बसेर १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सिट भागबन्डाको कसरत गरेको थियो । तर, कार्यदलभित्र सहमति हुने अवस्था नबनेपछि कार्यदलले शीर्ष तहका नेतालाई नै सहमतिको गाँठो खोल्ने जिम्मा दिएर प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले सहमति खोज्न सकस परेपछि बैठकमा दाबी भएअनुसारको विवरण उल्लेख गरेर शीर्ष तहमा विवाद मिलाउने जिम्मासहित प्रतिवेदन दिए पनि शीर्ष तहबाट समेत आआफ्नो दाबी कायम रहेपछि भागबन्डामा सहमति जुट्न नसकेको हो ।

आइतबारको बैठक पनि निष्कर्षविहीन
गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आइतबारको बैठकमा पनि सहमति हुन सकेन । अब आज र भोलि कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलको बैठकले सिट बाँडफाँटबारे छलफल गर्नेछ ।

बुधबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्ने भएको हो । उक्त बैठकमा कार्यदलले आफ्नो निष्कर्ष सुनाउने बताइएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्रै शेखर कोइराला लगायतका नेताहरूले कांग्रेसका लागि १ सय सिटभन्दा कम स्वीकार्य नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

कार्यदलमा कांग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा सदस्य छन् । यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *