वडाध्यक्ष शेर्पा भन्छन्:

‘चीनसँगकाे सीमा-नाका बन्द हुँदा ओलाङचुङगोलाको उत्पादनले बजार पाएन’ (भिडियोसहित)

काठमाडाैँ । पूर्वी नेपालको ओलाङचुङगोला ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका ७ मा पर्छ । ओलाङचुङगोला पूर्वको अत्यन्त दुर्गम र जनघनत्व एकदमै कम भएको वडा हो । नेपालसँगकाे चीनकाे सीमा-नाका यही ओलाङचुङगाेलासँग जाेडिएकाे छ । चीन र भारतका मुख्य सहरसँग छोटो दूरीमा रहेको यो वडाकाे नाका कोरोनापछि बन्द छ । यसैकारण ‌ओलाङचुङगाेलाका उत्पादनहरूले बजार पाएका छैन । यसले त्यहाँका स्थानीयवासीलाई निराशा तुल्याएकाे छ ।

कोरोनापछि स्थानीय स्तरमा उत्पादित गलैँचा, घ्यू, छुर्पीलगायतका सामाग्रीहरूले बजार नपाएकाे हाे । स्थानीयहरूले चाैंरी र चौंरीका बाछाहरू तिब्बतमा बेचेर ठूलै आम्दानी गर्थे, जुन अहिले ठप्प छ । यसले उनीहरूलाई मारमा पारेकाे छ । पशुपालन र व्यापारमा राम्रो आम्दानी गर्ने यो वडाका मानिसहरूले कोरोनापछि आफ्नो उत्पादन बजारीकरण गर्न पाएका छैनन् भने जीवन धान्नसमेत सजिलै सकेका छैनन् ।

कोरोनाका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भञ्ज्याङ बन्द छ । यसपछि त्यहाँको जनजीवनमा समस्या देखिएको छ । ओलाङचुङगोला पूर्वकाे सबैभन्दा छोटो नाका हो । तातोपानी र केरुङनाका नचल्दा पनि त्यहाँबाट ल्यासा व्यापार हुने गरेको थियो । तर, अहिले याे पूर्णरूपमा बन्द छ । यो बन्द हुँदा समस्यामा स्थानीयवासीहरू परेकाे वडाध्यक्ष छेतेन लामा शेर्पा बताउँछन् । ‘नाकाहरू बन्द छन् । यसपछि वडावासीहरूले आफ्नाे उत्पादन बेच्न पाएका छैनन् । यसले जीवन नै कष्टकर बनेकाे छ,’ उनले भनेका छन् ।

||फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन लामा शेर्पा। तस्बिर : मकालुखबर||

यो नाका हुँदै चीन-भारत जोड्ने दुई सडक वर्षाैँदेखि निर्माणाधीन अवस्थामा छन् । तर, भोगोलिक विकटताका कारण सदरमुकाम ताप्लेजङुबाट  ओलाङचुङगोलासम्मको सडक पनि जोडिन सकेको छैन । ओलाङचुङगोलाबाट ताप्लेजुङ सदरमुकाम फुङलिङतर्फ जाने सडक जोडिन लगभग २ किलोमिटर बाँकी छ । चट्टाननै चट्टान भएको र पर्याप्त बजेट नहुँदा सडक जाेड्न मुस्किल परेकाे वडाध्यक्ष शेर्पा बताउँछन् ।

तिब्बतसँग परापूर्वकालदेखि व्यापारिक कारोबार गर्दै आएको ओलाङचुङगोलामा चिराइतो, सतुवाजस्ता जडिबुटी प्रशस्ती मात्रामा उत्पादन हुन्छ । तर, त्यसकाे बजारीकरण भने भएकाे छैन । वार्षिक करोडौंको कारोबार हुने यो वडाकाे नाका बन्द हुँदा यहाँका स्थानीयवासी निराश छन् । अर्को त, चाैंरीलाई खुवाउने नुनकाे अभाव छ । चाैंरीले नेपालको नुन नखाने र चीनबाट नुन आयात नहुने हुँदा समस्या देखिएकाे छ । यसकाे प्रत्यक्ष घाटा वडावासीलाई देखिएकाे छ ।

||फक्ताङलुङ गाउँपालिका वडा नं. ७, ओलाङचुङगाेला। तस्बिर : मकालुखबर||

ताप्लेजुङ कञ्चनजङ्घाको काखमा रहेको हिमाली गाउँ ओलाङचुङगोला पर्यटको प्रचुर सम्भावना भएको ठाउँ हो । वडाध्यक्ष शेर्पाकाअनुसार जम्मा ६४ घर ओलाङचुङगोलामा छन् । याङमाका १० घरहरू छन् भने गोलामा ५४ घरहरू रहेका छन् । त्यहीँ वडामा बसोबास गर्ने जम्मा जनसंख्या ३५० को हाराहारीमा छ । तर नाकाकै समस्याका कारण पर्यकटकहरू पनि नआउने वडाध्यक्ष शेर्पाले बताएका छन् ।

४ हजार १ सय मिटर उचाइमा रहेको यस वस्तीबाट सदरमुकाम ताप्लेजुङ सदरमुकामसम्म आइपुग्न ३ दिन लाग्छ । तर, चीन जान भने डेढ दिन लाग्छ । नाकालाई नियमित सञ्चालनमा ल्याउन आफूहरूले सक्दो प्रयास गरिरहेको वडाध्यक्ष शेर्पा बताउँछन् । उनी वडावासीकाे मागअनुसार नाका खुल्नुपर्ने मागसमेत गर्छन् ।

यी नै यावत् सन्दर्भ समेटिएकाे कुराकानी यहाँ प्रस्तुत गरेका छाैँ । वडाध्यक्ष शेर्पासँग मकालुखबरकर्मी ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् । केही दिनपछि वडाध्यक्ष शेर्पासँगकाे अन्तर्वार्ता प्रस्तुत गर्नेछाैँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *