आरजू-चाैथाइवाले किन भेटिरहन्छन् ?

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवम् कांग्रेस केन्द्रीय समिति सदस्य आरजू राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटघाट भइरहन्छ । उनीहरूबीच बुधबार मात्रै पनि चौथोपटक भेटवार्ता भयाे । भारतको राजधानी नयाँ दिल्लीमा भएको उक्त पछिल्लाे भेटमा के-के विषयमा कुराकानी भए भन्नेबारे बाहिर आधिकारिक जानकारी नआएपनि उनीहरूबीचको लगातारको भेटले भने थुप्रैखालै संशय उत्पन्न गरेकाे छ ।

आरजू-विजयबीच हिजाेबाहेक नै ३ पटक भेटवार्ता भइसकेको थियाे । देउवा प्रधानमन्त्री बनेको ३३ दिनमै विजयले नेपालको भ्रमण गरेका थिए । २०७८ भदौ ६ गते नेपाल आएका उनी त्यही साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका थिए । संयोगले त्यो दिन रक्षा बन्धन परेकाे थियाे । त्यहीँ रहेकी आरजूले पाहुनाका रूपमा त्यहाँ आएका विजयलाई भाइको रूपमा राखी बाँधिदिइन् । त्यसयता आरजू-विजयीबीच व्यक्तिगतरूपमा दिदी-भाइकाे सम्बन्ध स्थापित भयाे । व्यक्तिगतरूपमा उनीहरूबीच दिदी-भाइकाे सम्बन्ध रहेपनि उनीहरूकाे लगातारकाे भेटले राजनीतिक तथा कूटनीतिकरूपमा भने ठूलाे अर्थ राखेकाे छ ।

||२०७८ भदाै ६ गते भाजपा नेता चाैथाइवालेलाई बालुवाटारमा राखी बाँधिदिँदै आरजू । तस्बिर : वेब ||

उनीहरूबीच २०७८ पुस १८ गते भेटवार्ता भयाे । आरजू स्वास्थ्योपचारका लागि भन्दै दिल्ली पुग्दा विजयलाई भेटेकी थिइन् । उनी दिल्लीसम्म पुग्दा विजयलाई नभेटी फर्किँदैनन् । त्यसपछि २०७९ जेठ २५ गते पनि पुनः उनीहरूबीच भेटवार्ता भयाे । गत वर्षको चैत १८ गते देउवाले भाजपा मुख्यालयको भ्रमण गरे । तीनदिने राजकीय भ्रमणमा गएका देउवाले भाजपा मुख्यालयको भ्रमण गर्नुमा आरजू-विजय सम्बन्धले नै चर्चा पायाे ।

उसो त दुई साताअघि भएको सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणकाे ‘फ्यासीलेटर’ पनि उनै आरजू थिइन् । यसकाे परपुष्टि भारतीय अधिकारीहरूलाई साथमा राखेर प्रचण्ड-आरजूबीच भएकाे भेटले गरिहाल्छ ।

||भाजपा नेता चाैथाइवाले र आरजूबीच २०७८ पुस १८ गते नयाँ दिल्लीमा भएकाे भेटवार्ता । तस्बिर : वेब||

जसै आसन्न सङ्घीय निर्वाचनपछि आरजू प्रधानमन्त्री बन्ने चर्चा सत्तारुढ गठबन्धन वृत्तमा छ । यसको पूर्वतयारीस्वरूप उनी भारतको सत्तारुढ दल भाजपासँग नजिकिएको ठहर र विश्लेषणहरू हुन थालेका छन् । हुन पनि आसन्न निर्वाचनपछि प्रधानमन्त्री बन्ने चर्चाका बीच उनी भाजपासँग नजिकिनुले थुप्रैखाले सन्देह थप्ने नै भयाे । आसन्न निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्रीकाे ‘क्यान्डीडेट्’ का रूपमा आरजूलाई अघि बढाउने सन्दर्भलाई कतिपय कांग्रेस नेताहरू नै स्वीकार्छन् । एक कांग्रेस नेताले मकालुखबरसँग भनेका छन्, ‘उहाँ (आरजू)लाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्छ भन्ने कुरा मैले पनि पार्टीकै साथीहरूबाट सुनेकाे हुँ । यद्यपि मैले पर्सनल्लीरूपमा उहाँलाई साेधेकाे छैन ।’ संस्थापन पक्षकाे यही तयारीलाई बुझेर कांग्रेसकै महामन्त्रीसमेत रहेका संस्थापनइतरका नेता गगनकुमार थापाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेकाे विश्लेषणकहरू बताउँछन् ।

||बायाँ : चाैथाइवाले र आरजूबीच २०७९ साउन ११ गते नयाँ दिल्लीमा भएकाे भेट । दायाँ : २०७८ भदाै ६ गते बालुवाटारमा भएकाे भेट । तस्बिर : वेब||

आरजूले विजयलाई राखी नबाँधिदिएसम्म नेपाली कांग्रेस-भाजपाबीच खास समधुर सम्बन्ध थिएन । अहिले भने यी दुई दलहरूबीच पार्टी टू पार्टी सम्बन्ध मजबुत रहेकाे बताइन्छन् कतिपय । यसाे हुँदा भाजपाले नेपालकाे आन्तरिक मामिलामा समेत प्रभाव छाेड्नसक्ने छ ।

त्यसाे त जब-जब दुई ठूला शक्ति राष्ट्रहरू अमेरिका र चीन विभिन्न बहना वा मामिलामा ठाेक्किन आइपुग्छन् । भारतले विजयलाई अघि सार्न थाल्छ । याे घटनाक्रमहरूले पुष्टिसमेत गरेका छन् । तर, अहिले नेपालका प्रधानमन्त्रीपत्नी; जसलाई सिंहदरबारमा समेत हस्तक्षेपकाे आराेप लाग्ने गर्छ र जसकाे चर्चा भावी प्रधानमन्त्रीकाे रूपमा हुन्छ यसलाई भने महत्त्वपूर्णरूपमा हेरिएकाे छ ।

विजय भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका विश्वासपात्र हुन् । उनी धेरैपटक ‘माेदीदूत’ बनेर नेपाल आएका छन् । यसाे हुँदा पनि उनी र आरजूबीचकाे भेटवार्तालाई मुख्यरूपमा हेरिएकाे छ ।

‘आरजू-विजयबीच व्यक्तिगत भेटवार्ता मात्रै नहुनसक्छ’

आरजू-विजयबीचकाे पटक-पटककाे भेटवार्तालाई कसैले पनि व्यक्तिगतरूपमा मात्रै बुझेका छैनन् । हुन पनि उनीहरूबीच धेरै समयकाे अन्तर छँदै छैन । उनीहरूबीच बढीमा ४/५ महिनाकाे अन्तरालपछि भेटवार्ता भइहाल्छ । त्यसबीचमा व्यक्तिगत साेधा-साेध मात्रै हाेइन भन्ने अनुमान लगाउन कसैलाई गाह्राे काम नै भएन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यकाे बुझाइ पनि यही छ, भन्छन्— ‘उहाँहरूबीचकाे भेटवार्ता व्यक्तिगत मात्रै हाे भनेर कसैले बुझेका पनि छैनन् र हाेइन पनि ।’

यसले भू-राजनीतिक तथा कूटनीतिकरूपमा ठूलाे अर्थ राख्ने विश्लेषक आचार्यकाे भनाइ छ । ‘भन्न त हामीले अनुमानले भन्ने हाे तर, अनुमानमा पनि त केही कुरा पक्कै हुन्छ नि । मलाई लाग्छ, उहाँहरूबीचकाे याे भेट व्यक्तिगत मात्रै हाेइन भन्नेबित्तिकै त्याे अलिक अर्थ राख्नेखाले हुन्छ र त्याे सबैले थाहा पाउनुपर्ने हुन्छ । यत्तिसम्म कि उहाँकै पार्टीमा पनि याे कुरा थाहा छैन हाेला । जबकि उहाँकाे भेटघाट कांग्रेसकाे केन्द्रीय समिति बैठककाे मुद्दा बन्नुपर्छ,’ आचार्य भन्छन् ।

तर, त्यसरी एउटा जिम्मेवार व्यक्तिले जो पायो त्यसैलाई भेट्दा भने खास राम्रो सन्देश नजाने भनाइ उनकाे छ । त्यसो त आरजूमाथि सिंहदरबारमा नै हस्तक्षेप गर्ने गरेको आरोपसमेत लाग्ने गरेको छ । यहीतर्फ लक्षित गर्दै विश्लेषक आचार्य भन्छन्, ‘फेरि उहाँले कांग्रेस केन्द्रीय समिति सदस्यभन्दा माथिको हैसियत राख्नुहुन्छ । त्यसो हुँदा पनि उहाँको भेटघाटबारे शङ्का-उपशङ्का उठेको हो । त्यसबारे जानकारी दिनुचाहिँ राम्रो हुन्छ । यदि त्यसाे भएन भने यसले आन्तरिक लोकतन्त्र भन्नूस्, वा एउटा सार्वभौम देशको व्यवस्था भन्नूस् कमजाेर बनाउने कुरा गर्छ ।’

भू-राजनीतिका जानकार चन्द्रदेव भट्ट आरजू-विजय भेटले कांग्रेस-भाजपाबीचकाे सम्बन्ध मजबुत हुने र त्यसकाे फाइदाल दुवै पक्ष लिने बताउँछन् । ‘उहाँ (आरजू) प्रतिकाे भाजपाकाे हेर्ने नजर राम्राे हुँदै गएकाे देखिन्छ । यसले दुई पार्टीबीचकाे सम्बन्ध मजबुत बनाउँछ,’ उनले भनेका छन् ।

उनले थपे, ‘अहिले भारत सरकारले पाँचदलीय गठबन्धनलाई नै बलियो बनाउन चाहेको देखिन्छ । यसकाे फाइदा दुवै पक्षलाई हुन्छ । उनीहरू लिन खाेज्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *