बजारमा सर्वसुलभ छैन नेपाली स्यानिटरी प्याड 

काठमाडाैँ । आगामी आर्थिक वर्षदेखि स्यानिटरी प्याडको आयातमा लाग्ने भन्सार महसुलमा सरकारले भारी छुट दिने भएको छ । यसअघि स्यानिटरी प्याडको आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्थ्यो । अब आउने आर्थिक वर्षमा यो दरमा ९० प्रतिशत घटाएर जम्मा १.५ प्रतिशत मात्रै भन्सार महसुल कायम भएको छ । यता मूल्य अभिवृद्धि कर भने १३ प्रतिशत नै कायम छ । जुन विलासिताको वस्तुमा लाग्ने कर हो ।

अर्को तर्फ स्यानिटरी प्याड उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको आयातमा लाग्ने गरेको ५ प्रतिशत भन्सार शुल्कलाई पनि घटाएर १ प्रतिशतमा झारेको छ । यसो गर्दा स्यानिटरी प्याड व्यवसायी भने रुष्ट भएका छन् । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेको उनीहरूको आरोप छ ।

स्यानिटरी प्याड उत्पादक संघले नेपालमा ६ अर्ब लगानीमा साना तथा ठूला ४० वटा उद्योगले स्यानिटरी प्याड उत्पादन गर्दै आएको जनाएको छ । यसरी हेर्दा नेपालले ३० करोड थान स्यानिटरी प्याड उत्पादन गर्दै आएको छ भने ९० करोड थान प्याड उत्पादन क्षमता रहेको समेत संघको दाबी छ ।

नेपालले स्यानिटरी प्याड उत्पादन मात्रै होइन निर्यात समेत गर्न थालेको संघले जानकारी दिएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २ करोड ३० लाख ४२ हजार बराबरको स्यानिटरी प्याड निर्यात गरेको भन्सार विभागको तथ्याङ्क छ ।

विदेशमा समेत निर्यात भइरहँदा नेपाली बजारका फार्मेसीमा भने नेपाली प्याड कमै मात्रामा पाइन्छ । नेपाली बजारमा अलि बढी चलेका नेपाली प्याड भनेको प्याडीलक्स र सेप्टी हुन् । तर यी दुई प्याड पनि छिटपुट कुनै-कुनै फार्मेसीमा मात्रै उपलब्ध हुन्छन् । काठमाडौँको व्यापारिक हबमध्येको एक नयाँ बानेश्वर क्षेत्रका १० वटा फार्मेसीमा सोध्दा एउटा ‘श्यामजी फर्मा’मा मात्रै नेपाली प्याड उपलब्ध भएको पाइयो ।

फर्माका सञ्चालकले एकपटक प्रयोग गरी हेर्नुस् न भन्दै नेपाली प्याड बिक्री गर्ने गरेको र मन पराएर फेरी खोज्न आउनेहरू धेरै भएको बताए । तर सबैभन्दा पहिलेचाहिँ भारतबाट आएका प्याड नै खोज्ने गरेको उनले बताए । हुन पनि भारत र अन्य मुलुकबाट आउने विस्पर, स्टेफ्री, नाइन, कम्फी, केयर फ्री लगायतका प्याडहरू बजारमा छ्यापछ्याप्ती पाइन्छन् । किराना पसल र कस्मेटिकमा समेत विदेशी प्याडले राम्रो स्थान बनाएको छ । बानेश्वर बस्ने प्रकृति कार्की २ वर्ष देखि नेपाली प्याड प्रयोग गर्दै आएकी छन् । उनी पूर्व मिस नेपाल शृङ्खला खतिवडा ब्रान्ड एम्बस्डर रहेको नेपाली प्याड ‘प्याडीलक्स’ विज्ञापनमा देखेकै भरमा खरिद गर्न मार्केट पुगेकी थिइन् । उनी भन्छिन्, ‘त्यसको विज्ञापनमा शृङ्खला खतिवडा नै थिइन् । प्रयोग गरी हेरौँ न त भन्ने सोचले बजारमा खोजेँ पाइएन । पछि एउटा प्लास्टिक, डाइपर, टिस्यु र प्याडको होलसेलमा गएर सोधेको त्यहाँ पाइयो । अरू विदेशी प्याड भन्दा १० रुपैयाँ सस्तो पनि छ, राम्रो पनि छ ।’

त्यस्तै, उनले नेपाली प्याड प्रयोग गर्न सहज र अरू प्याडको तुलनामा यो प्याडकाे लम्बाइ राम्रो रहेको समेत बताइन् । उनले भनिन्, ‘अहिले म त्यही होलसेलमा गएर ७-८ प्याकेट ल्याएर राख्ने गरेको छु । जहाँ पायो त्यही पाइँदैन, त्यही भएर ।’

यसरी राष्ट्रिय गुणस्तर चिह्न प्राप्त, प्रयोगकर्ताले मन पराएको, विदेशसम्म निर्यात गर्न पुगेको नेपाली स्यानिटरी प्याड नेपाली बजारमा चाहिँ किन सर्वसुलभ छैन त ? नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ भन्छन्, ‘हाम्रो विदेशी प्याडको बजारलाई भारतीय बजारले वर्षौँदेखि डोमिनेट गर्दै आएको छ । नेपाली बजारमा नै नेपाली प्याडको अभाव भएको कुरा सत्य हो । हामीले खुद्रा व्यापारीले जे खोज्छन्, त्यही पठाउँछौँ । उनीहरूले उपभोक्ताले जे खोज्छन् त्यही लिएर जाने हो । उपभोक्ताले पनि विदेशी नै पाउँछ भनेर विदेशी नै खोज्छन् । यसमा चेतना र विज्ञापन पक्षको कमजोरी छ । हाम्रो प्याड सस्तो छ भन्ने उपभोक्तालाई थाहा हुनुपर्‍यो । नेपाली प्याड सबै पसलमा अनिवार्य राख्नुपर्ने हो ।’

उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् । उत्पादन र बजारीकरण दुबैमा स्वदेशी प्याडलाई समेट्नुपर्ने र यदि समेटिइँदैन भने त्यो न्यायोचित नभएको तिमल्सिनाको भनाइ छ । उनले भने, ‘आयातमा भन्सार महसुल घटाउँदा उल्टै मूल्य बढिरहेको कुरा पनि आएको छ । यसको लागि तत्काल बजार अनुगमन गर्नुपर्छ । यो त उल्टो भइहाल्यो नि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *