स्थानीय तह निर्वाचन

एक लाख ३७ हजार मनोनयन : महिला उम्मेदवार न्यून

काठमाडौँ । देशभरका स्थानीय तहमा उम्मेदवार मनोनयनको सङ्ख्या १ लाख ३७ हजारभन्दा बढी पुगेको छ । निर्वाचन आयोगको अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । तर, महिला उम्मेदवार न्यून छ ।

सत्ता गठबन्धनले ६ वटा महानगरमध्ये दुई महानगरपालिकामा महिलालाई मेयरको उम्मेदवार बनाएको छ । ११ वटा उपमहानगरमध्ये एउटामा मात्रै महिलालाई मेयरको उम्मेदवार बनाएको छ । काठमाडौँको मेयरमा ५६ जनाको उम्मेदवारी छ । जसमा अधिकांश पुरुष उम्मेदवार छन् । उपप्रमुखमा भने अधिकांश ठाउँमा महिला उम्मेदवार छन् ।

महिलामा पाँच दलीय सत्तारूढ गठबन्धनका तर्फबाट प्रमुखमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना श्रेष्ठ उठेकी छन् । विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा समीक्षा बाँस्कोटाले उम्मेदवारी दर्ता गरेकी छन् । बाँकी प्रमुख पदमा सबै पुरुष उम्मेदवार छन् ।

ललितपुर महानगरपालिकामा प्रमुखमा १० जनाको उम्मेदवारी पर्दा कुनै पनि दलबाट महिलाको उम्मेदवारी परेको छैन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । अधिकांश पुरुष छन् । सत्तारूढ गठबन्धनले प्रमुखमा माओवादीकी रेणु दाहाललाई उम्मेदवार बनाएको छ । प्रमुखमा दाहाल महिला उम्मेदवार एक्लै हुन् । उपप्रमुखमा भने नौ महिला उम्मेदवार छन् ।

कास्कीको पोखरा महानगरको प्रमुखमा प्रमुखमा २६ र उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, प्रमुख पदमा ठूला दलका महिला उम्मेदवार छैनन् । विवेकशील साझा पार्टीले भने गण्डकी प्रदेश संयोजक एवं केन्द्रीय सदस्य सुशीला केसी अधिकारीलाई प्रमुखको उम्मेदवार बनाएको छ । विराटनगर महानगर प्रमुखमा ११ र उपप्रमुखमा १० जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुखमा महिला उम्मेदवार छैनन् ।

वीरगन्ज महानगरपालिकाको प्रमुखका लागि १३ स्वतन्त्रसहित १८ र उपप्रमुखमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार नभएको भन्दै लोसपाकी महिला नेतृ रम्भा सिंहले उपप्रमुखमा बागी उम्मेदवारी दिएकी छन् । महानगरपालिकामा मात्रै होइन, उपमहानगर पालिका, नगरपालिका र गाउँपालिकामा समेत महिला उम्मेदवार न्यून छन् ।

manju bhandari११ वटा उपमहानगरमध्ये हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका मीना लामाको उम्मेदवारी परेको छ । बाँकी १० वटा उपमहानगरको नेतृत्वमा राजनीतिक दलहरूबाट महिला उम्मेदवारी परेको छैन । नेकपा एमालेले जितपुर सिमरा उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा प्रमुखमा महिलालाई अघि सारेको छ ।

जितपुर सिमरामा यसअघि २०७४ मा उपप्रमुख बनेकी सरस्वतीदेवी चौधरी एमालेबाट मेयरको उम्मेदवार बनेकी छन् । धरानमा उपमेयर बनिसकेकी मञ्जु भण्डारी हाल मेयरमा उम्मेदवार बनेकी छन् । कर्णालीका ७९ पालिकामध्ये तीनमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र कालिकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख पदमा महिलाले उम्मेदवारी दिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेका तर्फबाट मोहनमाया ढकालले उम्मेदवारी दिएकी छन् । दैलेखको नारायण नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका निर्मला खड्का गठबन्धन दलबाट र कालिकोटका खाँडाचक्र नगरपालिकामा नेपाली कांग्रेसकी तारा शाहीले गठबन्धन दलबाट उम्मेदवारी दिएका छन् ।

एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी ढकाल यसअघि वीरेन्द्रनगर नगरपालिका उपप्रमुख पदमा रहेकी थिइन्। दैलेख नारायण नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकी खड्का यसभन्दा पहिला वडा सदस्य पदमा रहेकी थिइन् । कालिकोट खाडाँचक्र नगरपालिका प्रमुख पदमा उम्मेदवारी दिएकी शाही यसभन्दा पहिला ठेकेदार हुन् ।

सुदूरपश्चिम प्रदेशको अछामका २ नगरपालिकामा प्रमुखमा महिला उम्मेदवार भएका छन् । साँफेबगर नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा प्रमुखमा महिला उम्मेदवार भएका हुन् । नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवर र नेपाली काँग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने उम्मेदवार भएका छन् ।

चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हाल उपप्रमुख र नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री छन् । एमालेले कञ्चनपुरका दुई नगरपालिकाको मेयरमा महिला उम्मेदवारलाई अगाडि सारेको छ। बेदकोट नगरपालिकामा अहिलेका उपप्रमुख सुशीला सिंह र बेलौरी नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी पूर्वअध्यक्ष कमला बोहरालाई प्रमुख पदको उम्मेदवार उठाएको हो ।

झापामा दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाइएको छ । अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की उम्मेदवार भएकी छन् । गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी उम्मेदवार भएकी छन् ।

महिला फेरि पनि उपमै
०७४ सालमा महिलालाई उपप्रमुखमा सीमित गरेको आरोप खेपेका दलहरूले यो पटक पनि महिलालाई उपप्रमुखमै सीमित गरेका छन् । स्थानीय तहका प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्षमा उम्मेदवारी दिँदा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ।

तर चुनावी तालमेल गरेर एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई उठाउनै पर्ने बाध्यता दलहरूलाई छैन । यसकारण महिला उम्मेदवार प्रमुखको उम्मेदवारका लागि सिफारिसमै परेका थिएनन् र उम्मेदवारी पनि परेन ।

काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोल (एमाले), र विनीता मगैया (राप्रपा), कीर्ति कंसाकार (विवेकशील साझा), गुणबहादुर बन्जारा क्षेत्री (आधुनिक नेपाल समाजवादी), उदय खड्गी (लोकतान्त्रिक समाजवादी), इन्दिरा अधिकारी थापा (नेका बीपी), पुष्पा खरेल (नेपाल सुशासन), कल्पना ओझा (मौलिक जरोकिलो), सविता श्रेष्ठ (नेमकिपा), संगीता आचार्य (सचेत नेपाली), बन्दना बज्राचार्य (नेपाली जनता दल), उमा गुरुङ, सानु महर्जन लगायत महिला उम्मेदवार छन् ।

विराटनगर महानगरपालिकाको उपप्रमुखमा शिल्पा निराला कार्की (एमाले), बिन्दा लुइँटेल आचार्य (राप्रपा), माया ओझा (नेका बीपी), दीपा पोखरेल (परिवार दल), सहनाज खातुन (लोसपा), श्रृजु पराजुली (विवेकशील साझा), बसुन्धरा ओझा, उद्धवप्रसाद कोइराला, नमिता न्यौपाने (स्वतन्त्र) रहेका छन् ।

ललितपुर महानगरपालिकाको उपप्रमुखमा आस्था शाक्य (एमाले), सपना महर्जन (आमूल परिवर्तन मसिहा), सपना श्रेष्ठ (मौलिक जरोकिलो), स्वर्णिमा शाक्य (राप्रपा), उज्ज्वलकृष्ण श्रेष्ठ (विवेकशील साझा), ममिता श्रेष्ठ (नेमकिपा), सरमिस्ता श्रेष्ठ (नेकपा माले), कुसुम बज्राचार्य (जनमत पार्टी), सनि कपुर महर्जन (राजपा), जानकी प्रधान (नेपाल सुशासन), रत्न व्यञ्जनकार, सुबिनकुमार शाक्य, राजन खड्का, अजरमान जोशी, वसन्त खड्का (स्वतन्त्र) उम्मेदवार छन् ।

वीरगन्ज महानगरपालिकाको उपप्रमुखमा इम्तियाज आलम (गठबन्धन कांग्रेस), बिना देवी (राप्रपा), रम्भा सिंह (स्वतन्त्र) उम्मेदवार छन् ।
भरतपुर महानगरपालिकाको उपप्रमुखमा पुष्पा सापकोटा (विवेकशील साझा), हिमला गुरुङ (राप्रपा), देवी शर्मा (राजमो), इन्दिरा शर्मा गौली (नेकपा माले), मीना मगर (राजपा), सुष्मा तामाङ (मंगोल नेसनल), कल्पना थापा (राप्रपा नेपाल), कौशिला खत्री (नेकपा माओवादी समाजवादी), रविचन्द्र अधिकारी, पवित्रा जोशी उम्मेदवार छन् ।

पोखरा महानगरपालिकाको उपप्रमुखमा मञ्जुदेवी गुरुङ (एमाले), कोपिला रानाभाट (गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), शीतला थापा (नेकपा समाजवादी), चिना दवाडी (राप्रपा नेपाल), पदमबहादुर गुरुङ (आमूल परिवर्तन मसिहा), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी), सोममाया विक (स्वतन्त्र) उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *