कतारसँगको श्रम सम्झौता बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन : राजदूत ढकाल

काठमाडौँ । कतारका लागि नेपालका राजदूत डा.नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन नसकेको बताएका छन् ।

नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता हुन नसकेको बताएका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजदूत ढकालले नेपाल सरकार र कतार सरकारबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति रहेको बताए । उनले कतारले घरेलु श्रमिक लैजानेबारे चासो राखेकाले पनि परिमार्जन हुने श्रम सम्झौतालाई एकीकृत रुपमा अगाडि बढाउन आवश्यक भएकाले अहिले श्रम सम्झौता हुन नसकेको बताए ।

श्रम सम्झौता नेपाल कामदारको पक्षमा हुने गरी बनाउनुपर्ने भएकाले पनि तत्काल सम्झौता नभएको उल्लेख गरे । उनले नेपाल र कतारबीच भएको श्रम सम्झौता पुरानो भएको र अहिलेको मूल्यवृद्धिसँग मेल नखाने भएकाले परिमार्जन गर्नुपर्ने माग उठिरहेको बताए । उनले नेपाल सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको सेवा बिस्तारका लागि सकारात्मक रहकाले पहल र प्रयास गरिने बताए ।

राजदूत ढकालले कतारका अमिरको नेपाल भ्रमणले कतार नेपालबीच लगानी र सहयोगका ढोकाहरू खुलेको दाबी गरे । उनले कतारको राजदूतमा आफूलाई पूरा कार्यकाल काम गर्न दिने हो भने बाँकी रहेका काम पूरा गर्न सहज हुने बताए । उनले मुलुकमा सरकार परिवर्तन भएपनि राजदूतको व्यक्ति भन्दा पनि राजदूत सम्बन्धी स्पष्ट नीति बनाएर पूर्णकालिन रुपमा काम गर्नु दिँदा मात्रै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो हुने बताए । उनले राजदूतहरूको कार्यसम्पादनको आधारमा सच्याउन सुझाव दिने र मुलुकको अहितमा काम गरे फिर्ता बोलाउने नीति बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले सरकारले कतारसँग गरेका सम्झौताहरू कार्यान्वयनको लागि पनि अमिरको भ्रमणको करिब एक वर्ष कार्यकाल थप्ने र भ्रमण गरेको देशको राजदूत पनि कम्तीमा एक वर्ष परिवर्तन नहोस् भन्ने चाहने दाबी गरे । उनले यो कुरा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बुझेकाले तत्काल आफूलाई तत्काल फिर्ता नबोलाउने विश्वास दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *