एमबिए पास गरेर बिरुवा बेच्न थालेकी सलोनी

काठमाडाैँ ।  अझै पनि धेरैजसो, उच्च शिक्षापछि जागिरको कुरालाई नै प्रधान मानिन्छ । आफ्नै कुनै काम शुरु गर्न ‘शैक्षिक योग्यता’ बाधक बन्ने गरेको छ । तर थोरै नै सही केहीले यो परिधि नाघ्न थालेका छन् । र त्यस्तै मध्येकी एक हुन सलोनी महर्जन ।

सलोनीलाई जावलाखेलको २३ औँ पुष्पमेलामा व्यस्त मात्र होइन उनको अब्बल व्यवस्थापन कलाले काम नगर्नेले बहाना खोज्छ काम गर्नेले जताततै अवसर देख्छ भन्ने देखाउँथ्यो ।

पुरानो तरिकाले उनको अध्ययन र योग्यतालाई लिने हो भने सलोनीले कुनै वित्तीय संस्थाको व्यवस्थापक बन्ने योग्यता बनाएकी छन् । तर सलोनी अर्काको कम्पनी होइन आफ्नै फूलबारी सम्हालिरहेकी छन् । र त्यो फूलबारीको नाम हो ‘हाम्रो बगैँचा’ । हाम्रो बगैँचाका बिरुवा बेच्न उनी पुष्प मेलामा व्यस्त छिन् ।

आमा बुबाले २० वर्षदेखि नर्सरीमा फूलहरूसँग खेल्दै रमाउँदै गरेको हेर्दै हुर्किएकी सलोनीलाई त्यसको प्रभाव हुने नै भयो । यसको आर्थिक उपार्जनको पक्षबारे पनि उनी जानकार नै थिइन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरिसकेपछि सलोनी लकडाउनमा घरमै थुनिएकी थिइन् । त्यहीबेला उनलाई एउटा जुक्ति फुर्‍यो । अनलाइनमा बिरुवाको फोटो राख्ने अनि बेच्ने । धेरै मानिसले बिरुवा मन पराए । उनी त्यसैमा रमाउन थालिन् । अलि अलि गर्दै भ्याईनभ्याई हुन थाल्यो । लकडाउनको बेला भएकाले फुर्सद बढ्दा बिरुवा रोप्ने, गोडमेल गर्ने, बगैँचा बनाउन चाहनेहरू अरू बेला भन्दा बढी थिए । त्यसले सलोनीको अनलाइन व्यापारलाई झन् भरथेग गर्‍यो । उनी हौसिइन् ।

लकडाउन खुल्ने बित्तिकै सलोनीले मैतीदेवीमा ‘हाम्रो बगैँचा’ नामको नर्सरी खोलिन् । उनको नर्सरीको पहिलो उद्देश्य नै नेपालमै बिरुवा उत्पादन गर्ने र बेच्ने रहेको उनी बताउँछिन् । यसका लागि उनी एमबिएको अध्ययनले झनै सघाइरहेको बताउँछिन् । ‘पहिले परम्परागत तरिकाले बिरुवा बेचिन्थ्यो अब मार्केटिङ र ब्राण्डिङ गरेर बेच्ने समय छ, एकातिर प्रतिस्पर्धा र अर्कातिर गुणस्तरको कुरा छ त्यसैले मलाई मेरो क्वालिफिकेशनले एकदमै सहयोग गरिरहेको छ’ उनले भनिन् ।

अनलाइनबाट बिरुवा बेचेको आम्दानीबाट बगैँचा बनाएकी उनले अहिले १२ जनालाई रोजगारी दिइरहेकी छिन् । बिरुवा बेचेर वार्षिक ४० लाखसम्मको आम्दानी हुने जानकारी दिइन् ।

सरकारलाई छैन चासो
अहिले नेपाल फ्लोरिकल्चर एसोसिएसन फियानले आयोजना गरेको २३ औँ पुष्प मेलामा केही नर्सरीले पुरस्कार पाएका छन् । तर त्यो पुरस्कार के आधारमा दिने भन्ने विषय नै विवादित रहेको सलोनीले बताइन् । उनी भन्छिन्, ‘सबै व्यवसायीले नर्सरीमा बेच्नका लागि फूmल नै लगाउने हो । एउटा स्टल अवलोकन गरेर कुन आधारमा पुरस्कार दिन मिल्छ ? उनले सोधिन् । साना र नयाँ व्यवसायीलाई प्रोत्साहन दिनुपर्नेमा उल्टै निराश बनाउने काम भएको उनको अनुभव छ ।

सरकाले महिला उद्यमीलाई सहयोग र समर्थन गर्ने भनेपनि व्यवहारमा त्यस्तो नपाएको अनुभव छ उनको । स्वदेशी फूल र बिरुवाको मूल्य परिमार्जन नभएको बर्सौँ भएको र नेपाली फूलको बिरुवा २० देखि ४० रुपैयाँसम्ममा मात्र बेच्न पाइने व्यवस्थामा हेरफेर हुनुपर्ने उनको माग छ ।

नेपाली फूलको उत्पादन बढाएर फूलको आयात नै ठप्प बनाउने गरी उत्पादन गर्न सकिने तर त्यसका लागि सरकारले पुष्प व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछिन् । फूल पर्यावरण र वातावरणको हिसाबले मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्य र धार्मिक हिसाबले समेत जोडिएकाले यो क्षेत्रको विकासका लागि सरकारले विशेष योजना नै तयार पारेर लागू गर्नुपर्ने उनको भनाइ छ ।

व्यवसाय गर्नेलाई दुरुत्साहनको साटो प्रोत्साहन गर्ने र अप्ठेराहरू फुकाइदिने हो भने युवा पुस्तालाई उद्यमी बनाउने बाटो थप खुला हुने उनको अनुभव छ ।

प्रतिक्रिया

2 thoughts on “एमबिए पास गरेर बिरुवा बेच्न थालेकी सलोनी

  1. Saloni maharjan tapai ko yo uccha soch le desh ka yuwa barga harri lai that protsahit hune chha..yesari nai ajhai agadi badhirahanu hami nepali ra desh bidesh sabai ko aasish ra subhakamana chha.

Leave a Reply to Kabina maharjan Cancel reply

Your email address will not be published. Required fields are marked *