संसद् बैठक आज, टेबल होला त एमसीसी सम्झौता ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ तर, संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी प्रस्ताव समावेश छैन । कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।

सरकारले सर्वाधिक चर्चा र विवादित बनेको एमसीसी टेबुल गर्ने तयारी गरेको छ । संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुन सक्ने बताइएको छ ।

मंगलबार कांग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई एमसीसी टेबल गर्न आग्रह गरेका थिए । यो विषयमा सभामुख सकारात्मक रहेको कांग्रेसको भनाइ छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी एमसीसीको पक्षमा खुलेका छैनन् । प्रतिपक्षी दल एमालेले भने सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *