संसदमा एमसीसी पेश गर्नेबारे गठबन्धनमा सहमति भएको छैन : माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पेश गर्ने विषयमा पाँच दलीय गठबन्धनमा सहमति नभएको बताएको छ ।

नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी संसदमा पेश गर्ने निर्णय गरेको थियो भने कांग्रेस कार्यसम्पादन समितिको बैठकले एमसीसी पास गर्ने निर्णय पारित गरेको छ ।

तर सत्तारूढ दल माओवादी केन्द्रले पाँच दलमा एमसीसी पेश गर्ने विषयमा कुनै सहमति नभएको जनाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पाँच दलको सरकार भएकाले पाँच दलको निर्णय हुनुपर्नेमा अहिलेसम्म कुनै निर्णय नभएको बताए ।

उनले भने, ‘कांग्रेसको आफ्नो धारणा आएको हो । पाँच दलको सरकार भएकाले पाँच दलको निर्णय हुनुपर्यो । अहिलेसम्म पाँच दलको कुनै निर्णय भएको छैन । पाँच दलको निर्णय छाडेर उहाँहरूले एक्लै आफ्नो ढंगले गर्नु भयो भने त्यो अर्कै कुरा भयो ।’ उनले पाँच दलमा जे निर्णय हुन्छ त्यही साझा सहमति कार्यान्वयन हुने बताए ।

माओवादी केन्द्रले एमसीसीका विषयमा प्रष्ट धारणा बनाउन बुधबार संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । तर संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *