अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल सुरुवात गरेको बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै उनले आगामी वर्षहरूमा अर्थतन्त्रलाई तीव्रता दिने र यसका प्रतिफलहरू जनतासम्म पुर्याउने बताए ।
अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई एक विशाल जहाजको संज्ञा दिँदै चालु वर्षमा यसलाई नयाँ दिशातर्फ मोड्ने चुनौतीपूर्ण कार्य सम्पन्न भएको उल्लेख गरे । उनकाअनुसार आगामी दोस्रो र तेस्रो वर्षमा अर्थतन्त्रलाई गति प्रदान गरिनेछ भने चौथो र पाँचौँ वर्षमा गरिएका सुधारहरूबाट प्राप्त लाभलाई नेपाली जनतामाझ वितरण गरिनेछ ।
सरकारको पाँच वर्षको स्पष्ट ‘भिजन’ र पाँच वटै बजेटको मूल उद्देश्य यही रहेको उनको भनाइ छ । सुशासन सरकारको प्राथमिक कार्यसूची रहेको उल्लेख गर्दै अर्थमन्त्रीले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई कडा रूपमा लागू गरिने प्रतिबद्धता व्यक्त गरे ।
बजेट निर्माण राम्रो हुने तर कार्यान्वयन पक्ष फितलो हुने विगतको प्रवृत्तिलाई यस पटक चिर्नुपर्नेमा उनले जोड दिए । पुँजीगत खर्च र राजस्वको लक्ष्यलाई विश्वसनीय बनाउन सरकार लागेको जानकारी दिँदै उनले आन्तरिक राजश्व विभाग र भन्सार प्रशासनमा व्यापक सुधार, नेतृत्व परिवर्तन र पूर्ण डिजिटलाइजेसनमार्फत राजस्वको लक्ष्य हासिल गरिने दाबी गरे ।
अर्थमन्त्रीले केवल बजेटको सरकारी खर्चले मात्र अर्थतन्त्र नचल्ने बताउँदै ५० खर्बभन्दा बढीको निजी क्षेत्रको हिस्सालाई चलायमान बनाउन कानूनी र संरचनात्मक सुधार आवश्यक रहेको औँल्याए । कानूनी सुधारका लागि ठूलो बजेट नचाहिने तर यसले निजी पुँजीको आकर्षण र संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको तर्क छ ।
अनुभवी कर्मचारीतन्त्रको साथविना सुधार सम्भव नभएको स्वीकार गर्दै मन्त्री वाग्लेले कर्मचारीहरूलाई प्रोत्साहित गर्ने नीति लिइने बताए । अर्थमन्त्रीले गत तीन महिनामा कामको चाप र दबाब बढेको भए पनि त्यसको मुख्य उद्देश्य जनताका गुनासोहरूलाई चाँडो सम्बोधन गर्नु नै रहेको स्पष्ट पारे ।








