एमसीसी : देउवाविरुद्ध प्रचण्ड !

काठमाडाैँ । एमसीसी चर्चा पुन: पेचिलाे बनेकाे छ । नेपाली कांग्रेसले नेतृत्व गरेकाे वर्तमान सरकारले फागुन ४ [भाेलि] गते एमसीसी संसद्‌मा टेबुल गर्ने तयारी गरेसँगै याे पुन: पेचिलाे बनेकाे हाे । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भाेलि एमसीसी संसद्‌मा टेबुल हुनैपर्ने अडान दाेहाेर्‍याउँदै आएका छन् भने सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने तेहेर्‍याएका छन् ।

मंगलबार माओवादी शीर्ष नेताहरूबीच आन्तरिक छलफल भएकाे थियाे । त्यसक्रममा अध्यक्ष प्रचण्डले लामै ब्रिफिङ्ग गरेका थिए । ब्रिफिङ्गका क्रममा प्रचण्डले पुरानै अड्डी सुनाएका थिए । प्रचण्डलाई उद्धृत गर्दै एक नेताले मकालुखबरसँग भने— ‘बिनासंशाेधन एमसीसी कुनै पनि हालतमा संसद्‌मा टेबुल गरिनु हुन्न । हाम्राे पार्टी यसकाे विपक्षमा हुनुपर्छ र छ ।’

आफू पार्टीकाे ८औं राष्ट्रिय महाधिवेशनकै म्यान्डेटअनुसार नै अघि बढ्ने सुनाउँदै प्रचण्डले थपेका छन्, ‘अहिले बाहिर गठबन्धन फुटाउने षड्यन्त्र भइरहेकाे छ । यसलाई जाेगाएर निर्वाचनमा जानुपर्छ । एमसीसीकाे सन्दर्भमा राष्ट्रिय सहमति जुट्नुपर्छ ।’ गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले एमसीसी कुनै पनि हालतमा यथास्थितिमा अघि बढ्न नहुने निष्कर्ष निकालेकाे थियाे ।

यता आजै बिहान बसेकाे कांग्रेस संसदीय दलकाे बैठकले भने भाेलिकाे संसद्‌मा एमसीसी टेबुल हुनैपर्ने निष्कर्ष निकालेकाे छ । बैठकमा प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले सरकारले नाफा-घाटा नहेरिकन तत्कालीन सरकारले संसद्सम्म पुर्‍याएकाे एमसीसी वर्तमान सरकारले अनुमाेदन गर्नुपर्ने बताएका थिए ।

‘माओवादीकाे अडान फेरिँदैन’ 

एमसीसी बिनासंशाेधन अघि बढाउन नहुने अडानमा रहँदै आएकाे माओवादी केन्द्रमाथि आफू ‘पानीमाथिकाे ओभानाे’ रहन खाेजेकाे आराेप लाग्न थालेकाे छ । त्यसाे त भाेलिकाे संसद्‌मा यसकाे पुष्टि हुने एक कांग्रेस नेता बताउँछन् ।

हुन पनि माओवादीले एमसीसी पारित हुने संसद्‌ बैठकमा आफूले सहभागिता नजनाउने नीति अख्तियारी गरेकाे अनुमान लगाउन अप्ठ्याराे छैन । एक माओवादी नेता सुनाउँछन्— ‘हाम्राे पार्टीले सख्त विराेध गरिरहेकाे छ, हुँदैन भनिरहेकाे छ, बिनासंशाेधन अघि नबढाऔंँ भनेर भनिरहेकाे छ । यत्ति हुँदाहुँदै पनि सरकारले संसद्‌मा टेबुल गर्‍याे भने माओवादी चुपचाप बस्दै ठिक हाेला कि जस्ताे लागेकाे छ । अथवा थप कमद चाल्नुपर्‍याे भने कसरी चाल्ने भन्ने कुरा पार्टीले निर्णय गर्ला नि ।’

माओवादी प्रमुख सचेतक देव गुरुङ भने माओवादीकाे चरित्र सग्लाे रहेकाे दाबी गर्छन् । माओवादीले ‘डबल स्ट्यान्डर्ट’ नबनाउने उल्लेख गर्दै सचेतक गुरुङले भनेका छन्, ‘माओवादी केन्द्र जहाँ जसरी रहेपनि एमसीसीबारेकाे धारणा यही हाे, याे फेरिँदैन । हामीले विगतदेखि नै संशाेधन गरेर अघि बढाऔँ भन्दै आएका छाैँ, हामीले हुँदै हुँदैन पनि भनेका छैनाैँ तर संशाेधन हुनुपर्छ ।’

‘भाेलिकाे संसद्‌मा एमसीसी टेबुल हुन्छ’

कानूनमन्त्रीसमेत रहेका नेता दिलेन्द्रप्रसाद बडूले भाेलिकाे संसद्‌मा एमसीसी टेबुल हुने ठाेकुवा गर्छन् । नेता बडूले मकालुखबरकाे जिज्ञासामा भनेका छन्, ‘भाेलिकाे संसद्‌मा एमसीसी टेबुल हुन्छ र प्रक्रियाअनुसार अघि बढ्छ । याे पार लगाइहाल्नुपर्ने विषय बनेकाे छ । यसकाे पार अब लाग्नुपर्छ ।’

त्यसाे त संसद् सचिवालयले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरिसकेकाे छ । जहाँ एमसीसीबारे कार्यसूची छैन । यसबारे थप छलफल कार्यव्यवस्था परामर्श समितिकाे बैठकले गर्ने उल्लेख गर्दै उनले थपे, ‘अब याे विषय बढी भइसक्याे यसकाे पार वर्तमान सरकारले लगाउनैपर्छ । यदि यसाे भएन भने द्विपक्षीय सम्बन्धसमेत बिग्रनसक्ने खतरा देखिएकाे छ ।’

कांग्रेस महामन्त्री गगनकुमार थापाले समेत भाेलिकाे संसद्‌मा एमसीसी टेबुल हुनुपर्ने बताएका छन् । धेरैपछि एमसीसीबारे मुख खाेलेकाे महामन्त्री थापाले भनेका छन्, ‘अब वर्तमान सरकार आफ्नाे कर्तव्यबाट च्यूत हुन हुँदैन । नाफा र घाटाकाे विषय नहेरिकन एमसीसीलाई अघि बढाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *