घरको आलोचनाबारे प्रचण्ड भन्छन्- झुपडीमा बस्न तयार छु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू झुपडीमै बस्न पनि तयार रहेको बताएका छन् । ‘मेरो घरको विषयमा व्यापक आलोचना भयो,’ महाधिवेशनस्थल प्रज्ञा भवनबाहिर पत्रकारहरूको प्रश्नमा प्रचण्डले भने, ‘मैले घरपरिवारमा हिजो नै सल्लाह गरिसकेको छु, म झुपडीमा जान तयार छु ।’

प्रचण्डले बन्दसत्रमा समेत यही भनेको एक प्रतिनिधिले बताए । चुनाव नजिकिएको र पार्टी नै गाउँ र जनताकेन्द्रित हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले भनेका छन्, ‘चुनाव नजिकिएको छ, यो महाधिवेशनपछि केन्द्रीय समिति नै गाउँ जानुपर्छ । म पनि घर छोड्दैछु, तीन महिला रोल्पा जाँदा के हुन्छ ? सोच्दैछु ।’

प्रचण्ड अहिले खुमलटारमा बस्दै आएका छन् । त्यो घरलाई लिएर यसअघि पनि पटक–पटक आलोचना भएको थियो । त्यसभन्दा पहिले उनी लाजिम्पाटमा बस्थे । खुमलटारमा रहेकाे घर निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको रहेको बताइएको छ ।

बताइएअनुसार प्रचण्डको लागि पार्टीले घर बनाउँदैछ । त्यसबारे आधिकारिक जानकारी भने आएको छैन । यद्यपि नेताहरूले बताएअनुसार यसअघि नै पार्टीमा छलफल भएअनुरूप प्रचण्डको लागि पार्टीले घर बनाउन लागेको हो ।

जारी महाधिवेशनबाट प्रचण्डको राजनीतिक दस्ताबेज पारित भएको छ । २५ समूहमा बाँडिएका प्रतिनिधिहरूले उठाएका प्रश्नहरूको जबाफ प्रचण्डले दिएपछि दस्ताबेज पारित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *