प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक दस्ताबेज बन्दसत्रबाट पारित भएको छ । समूहगत रूपमा प्रतिनिधिहरूले उठाएको प्रश्नहरूको जबाफ प्रस्तुतकर्ता प्रचण्डले दिएपछि दस्ताबेज पारित भएको हो ।

प्रचण्डकाे प्रतिवेदनको पूरक प्रतिवेदनका रूपमा छुट्टाछुट्टै प्रतिवेदन जारी गरेका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको प्रतिवेदन भने थाँती नै छन् । स्राेतकाअनुसार उनीहरूले प्रतिवेदन प्रस्तुतका लागि समय पाउने छैनन् । यद्यपि प्रचण्डले ‘फ्लाेर’मै सबैकाे राजनीतिक भावना र सुझावलाई समेटेर अगि बढ्ने बचन दिएका छन् ।

गत आइतबारबाट शुरू भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । उक्त दुई प्रतिवेदनमाथि छलफल गर्न मंगलबार र बुधबार मध्याह्न १२ बजेसम्म समयसीमा ताेकिएकाे थियाे । छलफलका लागि १६ सयभन्दा बढी प्रतिनिधिहरूलाई २५ वटा समूहमा बाँडिएको थियो । उनीहरूले उठाएकाे प्रश्नहरूकाे जबाफ प्रचण्डले दिएपछि दस्ताबेज पारित भएकाे हाे ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनले पदाधिकारीमा केन्द्रीय अध्यक्ष र २९९ केन्द्रीय सदस्य मात्रै छान्ने कुरा बाहिर आएपछि प्रतिनिधिहरूले जारी बन्दसत्रले नै पदाधिकारी र केन्द्रीय समिति टुङ्ग्याउनुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *