प्रचण्डकाे प्रतिवेदन- ‘प्रचण्डपथ’काे पुनःस्थापना सम्भव छैन

प्रचण्डकाे राजनीतिक प्रतिवेदनमा के छ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतकाे पहिलाे दिनकाे बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । काठमाडौँको प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले सवा २ घन्टा लगाएर आफैँले तयार गरेकाे प्रतिवेदन वाचन गरेका छन् ।

प्रचण्डले आफ्नो प्रतिवेदनलाई ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ नाम दिएका छन् । उनले प्रतिवेदनमा ७ वटा उपशिर्षकहरू राखेर व्याख्या गरेका छन् । भूमिका/विषय प्रवेश, संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पूँजीवादीमाथिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरू र पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखा गरी प्रचण्डले आफ्नो प्रतिवेदनमा ७ उपशिर्षकहरू राखेका छन् ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा पार्टीको वैचारिक विकास र समाजवादी क्रान्तिसँगै प्रविधिसँग जाेडिएकाे समाजवादलाई मुख्य छलफल र बसहको विषय बनाएका छन् । एमालेसँगको एकता भङ्ग भएपछि चुस्त तरिकाले अगाडि बढ्न खोजिरहेको माओवादीले यो महाधिवेशनलाई ‘पार्टीको सांगठनिक र वैचारिक विकासको सुदृढिकरण’ भनेको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले भनेका छन्— ‘माओवादी केन्द्रको जारी ८औं राष्ट्रिय महाधिवेशन सिर्फ राजनीतिक दलसम्बन्धीकाे व्यवस्था र निर्वाचन आयोगकाे अप्ठ्यारो टार्नका मात्रै हाेइन, यसले वैचारिक तथा सैद्धान्तिक बहससमेत छेड्नेछ ।’

नेता श्रेष्ठको यो भनाइमा ऐक्यबद्धता जनाउँदै प्रचण्डले उद्घाटन समारोहमा भने— ‘माओवादी सुधार्न खोज्दैगर्दा मैले विगतमा भएका कमीकमजोरीहरूलाई पनि सम्झिँदैछु, माओवादी यस्तो हुनुमा मैले मेरै कमजोरी भयो भनेको छु । प्रतिवेदनमा मैले आफैँलाई चिरफार गरेको छु ।’

प्रचण्डले आफ्नो प्रतिवेदनमा मूलतः आत्मसमीक्षा गरेका छन् । समग्रमा प्रचण्डको प्रतिदवेनकाे शिक्षा हो— ‘कमीकमजोरीहरूलाई स्वीकार्दै र सिक्दै अगाडि जाने, जहाँ देश, जनता र प्राप्त राजनीतिक उपलब्धिहरूलाई केन्द्रमा राख्ने । त्यसका लागि माओवादी एकढिक्का हुने ।’

प्रचण्डले प्रतिवेदनमा जनयुद्ध त्यागिसकेर शान्ति प्रक्रियामा आइसकेपछिको अवस्थाबारे पनि विश्लेषण गरेका छन् । शान्ति प्रक्रियामा आएर पनि विद्रोहका कुरा गरिरहनु गलत भएको ठम्याइँ उनको छ । उनले भनेका छन्, ‘शान्ति प्रक्रियामा आइसकेपछि विद्रोहको कुरा गर्नु गलत भयो । सेना समायोजन र प्रचण्डपथ स्थगनमा पनि केही गलत भएको छ ।’

सेना समायोजनमा समेत नेतृत्वबाट गल्ती भएको उनको ठहर छ । ‘सेना समायोजन गर्दा पार्टी केन्द्रीय समितिमा छलफल नगरी नेतृत्वले एक्लै निर्णय गर्नु गलत भयो । छलफल नगरी प्रचण्डपथ स्थगन गर्नु गलत भयो, तर अब प्रचण्ड पथ पुनःस्थापना सम्भव छैन । यो एक सन्दर्भ सामाग्री मात्रै हुन सक्छ ।’

नेताहरूले प्रचण्डपथ छाेड्न गल्ती भएकाे बताउँदै आएकाे छ । जनार्दन शर्मा, मातृकाप्रसाद यादव, पम्फा भुसाललगायतका नेताहरूले माओवादीले प्रचण्डपथ छाेड्न गल्ती भएकाे दाेहाेर्‍याउँदै आएका छन् । माओवादीले एमालेसँग एकता गर्दा प्रचण्डपथ छाेडेर समाजवादउन्मुख जनवादकाे बाटाे अवलम्बन गर्ने बताएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *