पुलकित पुष्पकमल !

काठमाडौँ । आफ्नो दल नेकपा (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बडो खुसी देखिए, कारण— छाेटाे समयमा दिइएकाे निम्ताेलाई स्वीकारेर उपस्थित भएका नेताहरू र उनीहरूकाे मिजासिलो सम्बोधन ।

समारोहमा प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि राजनीतिक रूपमा फरक विचार बोक्ने दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाहीसम्म उपस्थित थिए । नेताहरूले आफ्नो र दलको तर्फबाट सौहार्दपूर्ण रूपमा सम्बोधन गरे, शुभकामना व्यक्त गरे । आपसमा घोचपेच गरेनन् । जसको प्रचण्डले समारोह विसर्जन गर्दै खुलेर प्रशंसा गरे र भने— ‘विभिन्न पार्टीका नेताहरूले जसरी सम्बोधनमार्फत सद्भाव देखाउनुभयो हाम्रो पार्टीप्रति, बडो मार्मिक लाग्यो । साह्रै मन पर्‍याे ।’

एक-एक अतिथि नेताहरूको नाम नै लिएर आभार व्यक्त गरेका प्रचण्डले थपे, ‘पार्टीगत रूपमा फरक विचार बोकेपनि देशको मुद्दामा, जनता र संविधानको मुद्दामा हामी एकैजुट हुन्छौँ र हुँदै आएका छाैँ ।’

यसअघि मुलुकका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न गरे । एमाले–कांग्रेसका उद्घाटनसत्रको मञ्च त्यति सौहार्दपूर्ण देखिएन । कांग्रेसको मञ्चमा त ठूलै घोचपेच चल्यो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘हिजाेआज गाउँमा कोही नेता पुगे जनताहरूले चोर आयो भनेर भन्छन्’ भनेर सम्बोधनका क्रममा भनेपछि कम्युनिष्ट नेताहरूले लिङ्देनलाई नै ‘निशासा’ बनाइरहे ।

यद्यपि माओवादीको मञ्च भने सुखद् देखियो । नेताहरूले सरासर शुभकामना व्यक्त मात्रै गरे । बरू नेताहरूले आफूहरू माओवादीसँगै एउटै मोर्चामा भएको कालहरू सम्झे, सँगै रहँदाका समयहरू सम्झे, राजनीतिक योगदानका बारेमा सम्झे । तर, नेताहरूलाई ‘निशाना’ बनाउने काम गरेनन् ।

मञ्चमा उक्लिँदै गर्दा प्रचण्डले पूर्वसहयाेद्धा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिर्सिएनन् । बिहान फाेनमार्फत महाधिवेशनको निम्तो दिएको स्मरण गर्दै प्रचण्डले भने, ‘ओलीजी बाहिर भएकोले आउनुभएन । उहाँले भनेजसरी नै महासचिव कमरेड (शंकर पोखरेल) आउनुभयो र उहाँले आफ्नो पार्टीको तर्फबाट जे-जे भन्नुभयो । त्यो सबै मननयोग्य छ । अझ मलाई मन परेको चाहिँ एकता गरेर गल्ती गरेका थिएनौँ भन्ने हो ।’

नेताहरूले आपसको योगदानबारे स्मरण गर्दै तारिफ गर्न छुटाएनन् । प्रधान मन्त्री देउवाले त प्रचण्डलाई राजनेताकै रूपमा चित्रण गरे । झन्डै साढे ३ घन्टा मञ्चमै प्रचण्डसँग बसेका देउवाले आफूहरू प्रचण्डकै बलमा संविधानसभामा गएकाेसमेत बताए । त्यसको गुण तिर्दै प्रचण्डले समारोह विसर्जनका क्रममा भने— ‘हाम्राे प्रधान मन्त्रीजीले कति मीठाे बाेल्न सक्या भन्या ।’ प्रचण्डले यसाे भन्दै गर्दा देउवाकाे मुस्कुराहट पनि कम थिएन ।

जसै— माओवादीकाे मञ्चमा नेताहरूबीच तिक्ततारहित सम्बन्ध देखिए । उनीहरूले आपसमा आक्षेप लगाएनन्, तिक्ततापूर्ण बोलेनन् । उद्घाटनसत्रकाे ‘माओवादी मञ्च’ बारे प्रज्ञा भवनबाहिर नेता नारायणकाजी श्रेष्ठले भने— ‘साेचेभन्दा राम्राेगरी उद्घाटनसत्र सम्पन्न गर्‍याैँ । नेताहरूकाे उपस्थिति र सम्बाेधनले माओवादी केन्द्र अझ सफल भएकाे महसुस भयाे ।’

०७८ दलहरूकाे महाधिवेशनकाे वर्ष बनिरहेकाे छ । राजनीतिक रूपमा बिग्रेकाे नेताहरूकाे सम्बन्ध विभिन्न दलहरूका महाधिवेशनकाे मञ्चहरूले जाेड्ने काम गरिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *