यस्ताे बन्याे कांग्रेस पदाधिकारी टीम

दुईबाहेक सबै नयाँ अनुहार

काठमाडौँ । नेपाली कांग्रेसले आगामी ४ वर्षसम्मका लागि पदाधिकारी टुङ्ग्याएको छ । १३ सदस्यीय पदाधिकारीमा दुई जनाबाहेक सबै नयाँ अनुहारहरू आएका छन् । महामन्त्रीदेखि सहमहामन्त्रीसम्मका  विभिन्न क्लस्टरहरूमा पनि नयैँ नयाँ अनुहारहरू आएका छन् । सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक पदाधिकारीमा सबै नयाँ अनुहारहरू अटाएका छन् ।

सभापतिमा देउवा, दुई उपसभापतिमा खड्का र धनराज गुरुङ छन् । खड्का देउवा प्यानलबाट विजयी भएका हुन् भने गुरुङ शेखर काेइराला प्यानलबाट निर्वाचित भएका हुन् । महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगनकुमार थापा छन् । कांग्रेसभित्रकाे युवा सर्कलमा सु-परिचित यी दुई अनुहार पनि पदाधिकारीमा नयैँ अनुहार हुन् । थापा काेइराला प्यानलबाट पदाधिकारी टाेलीमा आएका हुन् भने शर्मा प्रकाशमान सिंह प्यानलबाट निर्वाचित बनेका हुन् । यद्यपि उनी अब देउवासँगै हुनेछन् । पहिले संस्थापन समूहमा महामन्त्री पदकाे उम्मेदवार बन्ने स्थान नपाएपछि प्रकाशमानकाे प्यानलमा पुगेका थिए । तर, पछि सभापति चयन प्रक्रियाअन्तर्गत दाेस्राे निर्वाचनमा प्रकाशमानले पनि देउवालाई नै समर्थन गरेपछि शर्माले पनि ‘प्रकाशमान जहाँ म त्यहीँ नै’ भनेर भनेका थिए ।

सहमहामन्त्रीहरूका विभिन्न क्लस्टरहरूमा नयैँ नयाँ अनुहारहरू आएका छन् । बढी देउवा प्यानलबाट निर्वाचित भएका छन् । महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

पदाधिकारीमा महिला सहभागिता एकदमै कम छ । १३ सदस्यीय पदाधिकारीमा एकजना महालक्ष्मी मात्रै महिला छिन् । कांग्रेसको विधानअनुसार कोषाध्यक्ष मनोनीत हुन्छन् । सभापतिकाे सिफारिसमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एकजना काेषाध्यक्ष हुन्छन् ।

कांग्रेसको १३औं महाधिवेशनमा कांग्रेस पदाधिकारी ८ सदस्यीय थियो । सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, दुई जना सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारी हुन्थे । कांग्रेसको अघिल्लो कार्यसमितिमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा थिए ।

कांग्रेसमा पदाधिकारीहरूले पार्टी सञ्चालनका सन्दर्भमा महत्त्वपूर्ण काम गर्छन् । पदाधिकारीले विभिन्न पक्षसँग समन्वय गरेर पार्टी सञ्चालन गर्छन् । पार्टीले लिने महत्त्वपूर्ण निर्णयहरूको सवालमा भने केन्द्रीय कमिटी नै आवश्यक पर्ने विधानमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *