सहमति नजुटे प्रतिस्पर्धामै जाऔँ : सिंह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहले सहमतिमा सभापति पदको उममेदवार नटुङ्गिए प्रतिस्पर्धामै जानुपर्ने बताएका छन् । मंगलबार आफ्नो सम्पर्क कार्यालय, अनामनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता सिंहले सहमतिमा उम्मेदवार नटुङ्गिए लोकतान्त्रिक पद्धतिअनुरूप नै प्रतिस्पर्धामा जानुपर्ने बताएका हुन् ।

आफू कुनै पनि हालतमा ‘ब्याक’ नहुने अडान राख्दै आएका सिंह संस्थापनइतर पक्षले आफूलाई उम्मेदवार नबनाए एक्लै भएपनि अगि बढ्ने मनसायमा छन् । यसपछि यो बीचमा उनी वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको केही बैठकमा सहभागीसमेत भएका थिएनन्

यद्यपि अहिले सिंह पौडेलसँगै निरन्तर छलफलमा छन् । संस्थापनइतर पक्षबाट एउटै उम्मेदवार बनाउनुपर्ने युवा नेताहरूको दबाब छ । यसपछि उम्मेदवार टुङ्गयाउन  नेतृत्वलाई सकस परेको छ । यसैबेला सिंहले बरु प्रतिस्पर्धामै जाने बताएका हुन् । ‘सकियो भने त एउटै उम्मेदवार हुनु राम्रो हो,’ उनले भने, ‘नभए ठिकै छ, लोकतान्त्रिक पद्धतिअनुरू नै प्रतिस्पर्धामा जाऔँ ।’

१४औं महाधिवेशनबाट सही नेताले कांग्रेसको नेतृत्व लिनुपर्नेमा आफ्नो जोड रहेको उनको भनाइ थियो । त्यसका लागि आफू पनि योग्य भएको दाबी उनको थियो । ‘मैले करिब ५ दशकयताबाट जनताको सतहमा राजनीति गर्दै आएको छु । अब म सभापतिको उम्मेदवारबाट पछि हट्दिनँ,’ उनले भनेका छन् ।

बहालवाला सभापति शेरबहादुर देउवाको कार्यकाल सफल नभएको टिप्पणी गर्दै सिंहले प्रतिनिधिहरूले अब सही मूल्याङ्कन गरेर मात्रै मतदान गर्नसमेत आग्रह गरेका छन् । संस्थापनइतर पक्षलाई एउटै मात्रै उम्मेदवार तय गर्नुपर्ने दबाब छ । यद्यपि त्यो सजिलो भने छैन । संस्थापनइतर पक्षमै पौडेल–सिंहसँगै महामन्त्री शंशाक कोइराला, शेखर कोइरालालगायतका नेताहरू सभापतिको आकांक्षी हुन् ।

तर, संस्थापनइतर पक्षले सहमतिमै सभापतिको उम्मेदवार टुङ्ग्याउने बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *