कांग्रेस राजनीति:

फुट्यो पौडेल समूह, सिंह आफैँ बढे अगि

पौडेलले बोलाएको बैठकमा अनुपस्थित

काठमाडौँ । नेपाली कांग्रेसभित्रकाे वरिष्ठ नेता रामचन्द्र पौडेल समूह फुटेको छ । योसँगै आसन्न १४औं महाधिवेशनमा यो समूहबाट साझा उम्मेदवार बन्ने सम्भावना टरेको छ ।

कांग्रेसको पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह पौडेल समूह छाडेर आफैँ अगि बढ्ने तयारीमा छन् । उनी खासगरी मन्त्रिपरिषद् विस्तार भएयता पौडेल समूहमा असन्तुष्ट थिए । सिंहकाे असन्तुष्टि सरकारकाे ११ सदस्यीय राजनीतिक संयन्त्रले थप बढाएकाे छ । संयन्त्रकाे संयाेजक उनै पाैडेल छन् । यसकाे उनीनिकट नेताहरूले आलाेचना गर्दै आएका छन् ।

सिंहले आफूिनकट नेता राजेन्द्र केसीलाई मन्त्री बनाउन चाहेका थिए । तर, समूहले मीनेन्द्रप्रसाद रिजाल र दिलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाएपछि सिंह रुष्ट बनेका थिए ।यसपछि सरकारले बनाएकाे राजनीतिक संयन्त्रकाे संयाेजक पाैडेल बनेपछि सिंहले समूह छाड्ने निष्कर्ष निकालेका हुन् । सिंहले राजनीतिक संयन्त्रकाे कुनै अर्थ नै नभएकाे जिकिर गर्दै आएका थिए ।

सिंहले महाधिवेशनमा आफू सभापति उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । अहिलेसम्म कांग्रेसको नेतृत्वमा काठमाडौँबाहिर नेता मात्रै पुगेको दोहाेर्‍याउँदै आएका सिंहले भन्ने गरेका छन्— ‘यो पटक काठमाडौँभित्रै नेताहरू कांग्रेसको नेतृत्वमा पुग्नुपर्छ ।’ त्यसमा पनि उनले याे महाधिवेशनबाट कांग्रेसकाे नेतृत्व आफैँले गर्नुपर्ने  आवश्यक्ता औँल्याउँदै आएका छन् ।

उनको सचिवालयकाअनुसार सिंहले पौडेल समूहमा रहनुको कुनै औचित्य नरहेको बताएका छन् । उनकाे सचिवालय स्रोतले भन्यो, ‘उहाँ अब त्यो समूहमा रहनुहुन्न । त्यो समूहमा रहँदा आफ्नै राजनीतिक साख मात्रै ह्रास हुनसक्ने उहाँले बताउने गर्नुभएको छ । अब त्यही हाे । उहाँ त्यहाँ रहनुहुन्न ।’

सिंहले पछिल्लो समय आफ्नो समूहमा रहेका अन्य आकांक्षीहरूप्रति लक्षित गर्दै संसदीय निर्वाचन जित्न नसक्ने र अवसर पाएर पनि काम गर्न नसक्नेबाट पार्टी चल्न नसक्ने दोहोर्‍याउँदै आएका छन् ।

०००

पाैडेल सरकारले बनाएकाे राजनीतिक संयन्त्र संयाेजक बनेपछि उनकाे समूहका अधिकांश नेताहरू असन्तुष्ट छन् । सरकारलाई सहयोग र दिशानिर्देश गर्नसक्ने अधिकारसहितको उक्त संयन्त्र बनाउने निर्णय सत्तासीन गठबन्धनको थियो । तर, यसले कांग्रेसभित्र महाधिवेशनको मुखमा ‘ठूलो अर्थ’ राखेको छ । यसले कांग्रेसको संस्थापनइतर समूहमा एकखाले भाँडभैलो नै मच्चाएकाे छ ।

यससँगै कतिपय नेताहरूले बहालवाला सभापति शेरबहादुर देउवाले पाैडेललाई अल्मल्याउन खाेजेकाे आराेप लगाउन थालेका छन् । सिंहनिकट एक नेताले भनेका छन्, ‘उहाँ शेरबहादुरजीले अल्मल्याउन खाेजेकाे मात्रै देखिन्छ । यसकाे ख्याल उहाँले कति गर्नुभएकाे छ थाहा छैन ।’ १३औं महाधिवेशनमा पौडेललाई हराएर उनै देउवा सभापति बनेका थिए । देउवा पनि पुनः दोहोरिने मनसायमा छन्, उनले त्यसको घोषणा आफूनिकटका नेताहरूसँग गरिसकेका छन् । उनले यसअघि आफूनिकटका प्रदेशका नेताहरूलाई बूढानीलकण्ठ बोलाएर भनेका थिए— ‘तपाईंहरूले सहयोग गर्नुपर्‍याे । म पुनः दोहोरिन्छु ।’

पौडेल राजनीतिक संयन्त्रको संयोजक बन्दा उनको सभापति बन्ने सपनामा धक्का पुग्ने विश्लेषण उनीनिकट नेताहरूको विश्लेषण छ । उनीनिकट ती नेताले भने, ‘यसले उहाँको सभापति बन्ने सपनालाई कदापि राम्रो गर्दैन । उहाँ शेरबहादुरजीले जे भन्नुभयो, त्यो मान्नुभयो । यसले राम्रो गरेन ।’

पौडेलले बोलाएको बैठकमा अनुपस्थित

यससँगै सिंह नेता रामचन्द्र पौडेलले बोलाएको आइतबारको बैठकमा अनुपस्थित भएका छन् । आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्न पौडेलले बोलाएका बैठकमा सिंह अनुपस्थित भएका हुन् ।

सिंहको यो अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी निकटस्थ नेताहरूले सिंह हिजोआज सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफलमा रहेको बताउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *