एमाले महाधिवेशन

नाममा सहमति, काममा हङ्गामा

चितवन । अहिले चितवनको सौराहामा नेकपा एमालेको दसौँ महाधिवेशन चलिरहेको छ । महाधिवेशनबाट सर्वसम्मतिबाट नेतृत्व चयन गनुपर्नेमा एमालेको जोड छ । यद्यपि यसमा एमाले चुकिरहेको छ ।

खास गरी केन्द्रीय पदाधिकारीमा विवाद हुँदा बन्द सत्रअन्तर्गतका कार्यक्रमहरू ढिलो गरी शुरु हुने र रातिसम्म कार्यक्रम तथा छलफल चल्ने क्रम जारी छ । १५ सदस्यीय पदाधिकारी टुङ्ग्याउन सकस भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४ जना पदाधिकारी (२ उपाध्यक्ष र २ उपमहासचिव) थप गरे, यसपछि पनि नेतृत्व टुङ्ग्याउने सकस उस्तै रहिरह्यो ।

 यसपछि शनिबार शुरु भएको बन्द सत्र पनि तातो न छारो भयो । निर्धारित समयभन्दा ५ घण्टा ढिलो गरी प्रारम्भ भएको बन्द सत्रले असोजमा भएको विधान महाधिवेशन भत्काएर १९ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने निर्णयलाई अनुमोदन गर्नेबाहेक नयाँ काम गरेन ।

सुरुमा विदेशी पाहुना नेताहरूले सम्बोधन गरेको फ्लोरमा पछि सतहमै विवाद देखियो । खास गरी फ्लोरले सम्पूर्ण पदाधिकारी चुन्ने जिम्मा अध्यक्ष ओलीलाई दिएपछि विवाद देखिएको हो । मुख्यतः उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले यो फ्लोरको निर्णयको विरोध गरे । यद्यपि यसको सम्बोधन भएन ।

रावल र भुसाल समूहका केही प्रतिनिधिहरूको स्वर गाइँगुइँ सुनिए पनि फ्लोरको सहमति ओलीलाई नै दिने थियो । यससँगै हिजोको बन्द सत्र टुङ्गियो । थप काम केही गरेन एमालेले । यस पटक सर्वसम्मति रूपमा आफैँ अध्यक्ष दोहोरिने ठूलो धोको पालेका ओलीले निर्वाचनमा नजाने मनसाय बनाएका छ । त्यसो त एमालेको ठूलो कित्ता ओलीसँगै छ, तैपनि उनले निर्वाचन गराउन चाहँदैनन् ।

यसबारे मकालुखबरले राखेको जिज्ञासामा केन्द्रीय सदस्य विशाल भट्टराईले भने, ‘त्यो त भन्नै पर्दैन नि । चुनाव नै भए पनि जित्ने उहाँले नै हो । सर्वसम्मति रूपमा जाँदा पनि उहाँ नै हो । तर निर्वाचन गराएर किन बढी समय र कामको चाप बढाउने भन्ने पनि हो एउटा त, अर्को त सर्वसम्मति भयो भने त्यसले राम्रै सन्देश दिन्छ पनि भन्ने पनि छ ।’

पहिलो विधान महाधिवेशनमा आफू अनुकूल राजनीतिक तथा सांगठनिक व्याख्या गराएर फागुन अगावै अध्यक्ष बन्ने सोचेका ओलीलाई उपाध्यक्ष भीम रावलले चुनौती दिएसँगै ओलीलाई सकस परेको छ ।

ओली नीति : फ्लोरको सहारा
ओली फ्लोरको सहारा लिएर पेलेरै अगाडि बढ्ने दाउमा छन् । यसका लागि ओलीले विष्णु पौडेल, विशाल भट्टराईलगायतलाई उहीअनुसार बढ्न सहयोग गर्न भनेका छन्  । बन्द सत्रको पहिलो आवरमा भट्टराईले भनेका थिए, ‘अध्यक्षले नाम घोषणा गर्नुहुन्छ, हामीले परर… ताली पिट्नुपर्छ ।’

त्यसो त फ्लोरमा भीम रावल, घनश्याम भुसालगायतका नेताहरूले विरोधको हात उठाउँदा विष्णु पौडेलले रोकेका थिए । यिनै सहारा लिएर ओलीले फ्लोरमा नाम घोषणा गरेर तालीले अनुमोदन गराउने दाउ ओलीको छ । यद्यपि यसमा रावल, भुसालहरू मान्ने वाला छैनन् । गए राति बनेको पदाधिकारीको सूचीलाई अन्तिम मान्ने हो भने ओलीले रावललाई उपाध्यक्षमा अटाउँदा भुसाललाई ‘किकाउट’ गरेका छन् । योसँगै एमालेमा नेतृत्व पंक्ति टुङ्गिने विषय झनै पेचिलो बनिरहेको छ ।

शनिवार राति हलमा देखिएको दृश्यले पनि ओलीले सर्व सहमतिको नाममा निर्वाचन प्रक्रिया रोक्नुपर्ने देखिँदैन । १० बुँदे सहमति गरी आएका रावलको चुनौतीले ओली फेरि नेतृत्वमा दोहोरिन रोकिने  अवस्था छैन । ‘जित्ने हार्ने कुरा अलग हो । तर केपी ओलीले ल्याएको प्रस्तावले एमालेभित्र आन्तरिक लोकतन्त्र रहेन । यो नास भयो,’ १० बुँदे गरी एमालेकै रहेका एक नेता भन्छन्, ‘हलमा नामावली प्रस्तुत हुन्छ, त्यसबेला ताली पनि बच्छ, ताली बजिरहँदा भीम रावलको उम्मेदवारी थिएन भन्ने हुन्छ र ?’

ओली निकट नेताहरू भने पार्टी विशेष परिस्थितिमा रहेकाले सर्वसम्मत नेतृत्व चयन गर्न यस्तो बाटो रोज्न परेको बताउँछन् । ‘केपी ओलीलाई निरन्तर साथ दिइरहेका, १० बुँदेमार्फत पार्टीमा रहेका र पूर्वमाओवादी सबैलाई समेट्ने गरी नाम प्रस्तुत हुन्छ । हलबाट अनुमोदन पनि हुन्छ’, ओली निकट अर्का नेता भन्छन्, यससँगै महाधिवेशन सकिन्छ ।’

आइतबार बिहान महाधिवेशन स्थलमा भेटिएका एक नेताकाअनुसार ओलीले तीन पक्षलाई समेट्ने गरी पदाधिकारीहरूको नामावली तयार पारिसकेका छन् ।  एमालेले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *