एमाले जिल्ला अधिवेशनको अन्तिम तयारी

विराटनगर । नेकपा (एमाले) ले जिल्ला अधिवेशनलाई तीव्रता दिएको छ । झापा, मोरङ र सुनसरीसहितका जिल्लामा २३ र २४ गते अधिवेशनको तयारी भइरहेको एमालेले जनाएको छ ।

एमाले पुस २३ र २४ गते १०औं झापा जिल्ला अधिवेशन गर्दै छ । त्यस्तै मोरङले ९औं जिल्ला अधिवेशनको तयारी गरेको छ ।

तयारी तीव्र रूपमा अघि बढेको एमालेले जनाएको छ । झापा जिल्ला अधिवेशन विर्तामोडको हिमाल सागर रिसोर्टमा हुने कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
यसपटकको अधिवेशनमा प्रतिनिधिहरू मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । झापा अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् ।

एमाले मोरङमा ९औं जिल्ला अधिवेशन गर्दैछ । १ हजार ३ सय प्रतिनिधि सहभागी एमाले मोरङले जनाएको छ । पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरूबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने जिल्ला सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले जानकारी दिए ।

एमालेले पदाधिकारी चयन गर्दा सकेसम्म सर्वसम्मत गर्ने र नभए निर्वाचन प्रक्रियामा जाने जनाएको छ । मोरङमा १६५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछन् । अधिवेशनले पदाधिकारीसहित जिल्ला कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने जनाइएको छ ।

सुनसरी जिल्लाले पनि अधिवेशनलाई तीव्रता दिएको छ । एमाले सुनसरीको ७औं जिल्ला अधिवेशन २३ गते नै उद्घाटन हुँदैछ । इनरुवा नगरपालिका १ मा रहेको खेल मैदानमा हुने उद्घाटनलाई एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्च्यूअल माध्यमबाट सम्बोधन गर्नेछन् ।

सुनसरी जिल्ला अधिवेशनका लागि २ हजार प्रतिनिधि सहभागी हुने एमाले सुनसरी प्रचारप्रसार उपसमितिका सहसंयोजक रवी खनालले जानकारी दिए । एमालेले पुस २३ र २४ गते देशभरी नै जिल्ला अधिवेशन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *