एमाले महाधिवेशन उद्घाटनमा पूर्व-पश्चिम राजमार्ग ठप्प, पश्चिम नेपालबाट आउने यात्रु बढी प्रभावित हुने

काठमाडौँ । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटनको दिन मंसिर १० गते चितवनमा निजी तथा सार्वजनिक सवारी आवागमन रोकिने भएको छ । शुक्रबार बिहान १० बजेदेखि उद्घाटन अवधिभर नारायणगढ क्षेत्रमा निजी तथा सार्वजनिक सवारी प्रवेशमा रोक लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मकालुखबरलाई जानकारी दिए ।

प्रजिअ तामाङकाअनुसार पश्चिम नेपालबाट आउने सवारी साधन नारायणी पुलमा, पूर्वबाट आउने सवारी साधनहरू जिल्ला प्रशासन कार्यालयको चोकमा र उत्तरबाट आउने गाडीहरूलाई आँप टारीमै रोकिने छन् । मानवीय सुरक्षा प्रमुख विषय भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरेर सुरक्षा योजना बनाइएको उनले बताए । त्यो दिन  अत्यावश्यक बाहेकका यात्रा नगर्न सर्वसाधारणलाई भनिएको पनि प्रजिअ तामाङले बताए ।

एम्बुलेन्सलगायत अत्यावश्यक सवारीका साधनका लागि भने सहजीकरण गर्ने तयारी छ । प्रजिअ तामाङले भने, ‘अत्यावश्यकलाई पूर्वको हकमा केही गाह्राे हुन्न, बाइपास रोड र हाइवे क्लियर नै हुनेछ, काठमाडौं, पोखरा जान केही भएन । तर पश्चिमबाट आउने गाडीलाई नर्मल अवस्थामा विकल्प दिन्नौँ, अत्यावश्यक अवस्थामा सहजीकरण भइहाल्छ ।’

यो दिन पश्चिम नेपालबाट आउने यात्रुहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । उनीहरूले काठमाडौँ आउँदा बुटवल-पाल्पा-पोखरा-मुग्लिन हुँदै यात्रा गर्नुपर्ने छ । यसरी घुमाउरो बाटो प्रयोग नगर्ने भए एमालेको महाधिवेशन उद्घाटन समारोह अवधिभर बाटोमै कुरेर बस्नुपर्ने छ । सो दिन नारायणगढ क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा बनाइने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी समेत खटाइने प्रजिअ तामाङले बताए ।

महाधिवेशन उद्घाटनको दिन ट्राफिक प्रहरी समेत थपिनेछन् । दसौँ महाधिवेशनमा एमालेले देशभरबाट लाखौँ कार्यकर्ता चितवनमा ओराल्ने बताएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढ नदी किनारमा र बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया

One thought on “एमाले महाधिवेशन उद्घाटनमा पूर्व-पश्चिम राजमार्ग ठप्प, पश्चिम नेपालबाट आउने यात्रु बढी प्रभावित हुने

  1. बाटो अबरुद्ध पारेर जनतलाई कष्टकर जिवन बनाउने पार्टी हुन सक्दैन

Leave a Reply to Radhamohan Cancel reply

Your email address will not be published. Required fields are marked *